घरमै आएका अमेरिकी राजदूतलाई माधव नेपालले लेखेर दिनुस भनेपछि - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

घरमै आएका अमेरिकी राजदूतलाई माधव नेपालले लेखेर दिनुस भनेपछि



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले घरमै भेट्न आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लिखित जवाफ मागेका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिषयमा प्रष्ट पार्न आएका बेरीलाई नेता नेपालले लिखित जवाफ मागेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतको फ्रन्टलाइन म्यागेजिनलाई अन्तर्वार्ता दिँदै उनले यसको खुलासा गरेका छन् ।

नेता नेपालले अन्तर्वार्तामा एमसीसी सहयोग रोकिए एसियाली विकास बैंक (एडीबी) सँग सहयोग लिने पनि बताएका छन् ।

उनले एमसीसीबाट प्राप्त हुने ५० करोड डलर रोकिए त्यसको विकल्पमा एडीबीसँग सहयोग लिने बताएका हुन् ।

‘एमसीसीले ५० करोड डलरको प्रसारण लाइन र रोडवेज निर्माण गर्न प्रस्ताव गर्‍यो । यो पर्याप्त पैसा हो, जुन कि नेपालसँग अन्यथा पहुँच छैन । यदि यी रेखाहरू र सडकहरू निर्माण गरियो भने यसले देशको पूर्वाधार सुधार गर्दछ र यसको अर्थव्यवस्थामा सुधार ल्याउँछ’, उनले भनेका छन् ।

सोही अन्तर्वार्तामा उनले अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत होइन भनी लिखित प्रतिबद्धता गर्न आग्रह गरेको समेत बताएका छन् ।

गत माघ २३ मा राजदूत बेरीले नेता नेपाललाई निवासमै पुगेर भेटेका थिए । उनीहरुबीच एमसीसीकै विषयमा छलफल भएको थियो ।

‘इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न । हामी त्यसमा स्पष्ट छौँ । त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसीसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले सो अन्तर्वार्तामा भनेका छन् ।

एमसीसी र इन्डो प्यासिफिकबीच कुनै सम्बन्ध नभएको अमेरिकाले आफूलाई बताएको उनको भनाइ छ ।

‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत मकहाँ आउनुभएको थियो । मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ । जुन अहिलेसम्म आएको छैन,’ उनले भनेका छन् ।

नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्न सिफारिस गरेको छ।