वायुसेवा कम्पनीहरूले कर्मचारीलाई बेतलबी बिदामा दिने, सेवा सुविधा पनि कटौती
काठमाडौं- एअरलाइन्सहरूले आफ्ना कर्मचारीहरूलाई बेतलबी बिदामा पठाउने भएका छन् ।
वायुसेवा सञ्चालक संघ नेपालले कोरोना भाइरसका कारण कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो।
संघमा आबद्ध सञ्चालकहरुको बिहीबार बसेको बैठकले कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने, माग नहुने जहाज भूमिस्थ (ग्राउन्डिङ) गर्ने, खर्चमा मितव्ययिता अपनाउनेलगायतका निर्णय गरेको हो।
संघले सेवा सुविधा समेत कटौती गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। कोरोना भाइरसको संक्रमण संसारभर फैलिनथालेको, हरेक क्षेत्रमा त्रास सिर्जना भएको र प्रत्येक देशमा अकल्पनीय संकट देखा पर्नथालेको भन्दै संघले सरकारलाई विभिन्न सुझाव समेत दिइसकेको जनाएको छ।
संघका अनुसार वायुसेवा प्रदायकले बैंकलाई तिर्नुपर्ने ब्याजलाई राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानी व्यवस्था मिलाउने, कम्पनीले बैंकबाट डलरमा लिएको ऋणको सावाँ पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, हवाइ इन्धनमा सरकारले लगाउँदै आएको मूल्यअभिवृद्धि कर हटाउने, हवाइ इन्धनको मूल्य ३० प्रतिशत कम्तीमा पनि घटाउनुपर्ने, बीमाशुल्कमा लाग्दै आएको मूअ करमा पूर्ण छुट दिनुपर्ने, आयल निगमले माग्दै आएको नगद धरौटीको साटो बैंक ग्यारेन्टीलाई मान्यता दिनुपर्ने, इन्जिन लगायत वायुयानका सीमित पार्टपुर्जामा दिइँदै आएको मूअ कर छुट सबै पार्टपुर्जामा दिइनुपर्ने, विमान अवतरणलगायतको नेभिगेसन शुल्क २०२० भरि छुट दिनुपर्ने समेत माग गरेको संघले जनाएको छ।