अस्पताल भर्ना भएका प्रधानमन्त्री माथि थप दुई मन्त्रालयको भार
काठममाडौं- मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दुई मन्त्रालयको जिम्मेवारी थपिएको छ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्नु परेको हो ।
मंगलबार राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिशनको मोलमलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।
खाली रहेको दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा छ ।
खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन् । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार मध्यराती सकिँदैछ। अर्थमन्त्री खतिवडाले पछि सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पूनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ ।
नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।