मिर्गौलाको 'क्रस म्याच' आज: समस्या देखिए शल्यक्रिया स्थगित गरिने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मिर्गौलाको ‘क्रस म्याच’ आज: समस्या देखिए शल्यक्रिया स्थगित गरिने



बीबीसी- दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम ‘क्रस-म्याच’ गर्न लागिएको उनको शल्यक्रिया र मिर्गौला प्रत्यारोपण गर्ने टोलीका प्रमुख चिकित्सकले बताएका छन्।

यसअघि गरिएका सबै परीक्षणको परिणाम सकारात्मक भए पनि अन्तिम समयमा उक्त प्रक्रिया पुन: गरिनुपर्ने प्रा. डा. प्रेमराज ज्ञवालीले बताए।

उनका अनुसार कुनै किसिमको समस्या देखिए शल्यक्रिया स्थगित गरिनेछ।

“यो मिर्गौला प्रत्यारोपण कस्तो हुन्छ भने शत प्रतिशत नतिजा नआउँदासम्म प्रक्रिया अघि बढाउन सकिँदैन,” उनले भने।

उनका अनुसार पटकपटक ‘क्रस-म्याच’ भइसकेको अवस्थामा सामान्यतया समस्या उत्पन्न हुने सम्भावना निकै न्यून हुन्छ।

अठसट्ठी वर्षीय प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी सोमवार साँझ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन्।

कस्तो छ ओलीको अवस्था?

ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी सुरु गरेका छन्।

मुटु, श्वासप्रश्वास, दाँत अनि रक्तचाप लगायतका परीक्षण भइरहेको र शरीरका सबै महत्त्वपूर्ण अङ्ग तथा आवश्यक परीक्षण बुधवार बिहानसम्म गरिने डा. ज्ञवालीले बीबीसीलाई बताए।

त्यसबाहेक प्रधानमन्त्री ओलीको मङ्गलवार डायालिसिस पनि गरिँदैछ।

“मुख्य कुरा शल्यक्रिया गर्नुअघि शरीरमा कुनै पनि किसिमको सङ्क्रमण हुनुभएन,” ज्ञवालीले भने। “त्यसबाहेक आज गरिने क्रस-म्याचले प्रधानमन्त्रीको शरीरले त्यो मिर्गौला स्वीकार गर्छ वा गर्दैन भन्ने कुरा स्पष्ट पार्छ।”

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यति बेला बुहारी नाता पर्ने अञ्जना घिमिरेले उनलाई मिर्गौला दिएकी थिइन्। यस पटक पनि ओलीलाई नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ।

दोस्रो पटक गरिने प्रत्यारोपण र त्यसपछिको अवस्थालाई बढी संवेदनशील मानिन्छ।

कहिले हुन्छ शल्यक्रिया?

योजनामा कुनै परिवर्तन नआए प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार बिहान ९ बजे सुरु हुनेछ।

“हामीले सामान्यतया यही समयमा शल्यक्रिया गर्ने गरेका छौँ। भोलि पनि त्यसै गर्ने तयारी छ,” डा. ज्ञवालीले भने।

उनका अनुसार सामान्य अवस्थामा पाँच घण्टाजतिमा शल्यक्रिया सकिन्छ।

शल्यक्रिया सकिएको कति समयमा बिरामीलाई होस आउँछ भन्ने बीबीसीको प्रश्नमा ज्ञवालीले भने, “अपरेशन टेबलबाट सार्ने बेला उहाँ (प्रधानमन्त्री)को होस आइसक्नेछ।”

चिकित्साटोलीमा को-को छन्?

प्रधानमन्त्री ओलीको उपचारका लागि झन्डै २० जनाको टोली बनाइएको डा. ज्ञवालीले बताए।

त्यसमा युरोलजी विभागका छ चिकित्सकको भूमिका विशेष रहने बताइएको छ।

उपचारका क्रममा कुनै पनि किसिमका व्यवधान नआओस् वा कुनै किसिमको जटिलता उत्पन्न भइहालेको अवस्थाका लागि भनेर दुई भारतीय चिकित्सक नेपाल आउने बताइएको छ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी डा. अनन्त कुमार पनि आउन लागेका छन्।

त्यसबाहेक अर्का मिर्गौलारोग विशेषज्ञ पनि नेपाल आउने बताइएको छ।

“शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ,” ज्ञवालीले भने।

नेपालमा कहिलेदेखि मिर्गौला प्रत्यारोपण?

नेपालमा सन् २००८ बाट मिर्गौला प्रत्यारोपण हुन थालेको र शिक्षण अस्पतालमा दोस्रो पटक गरिने प्रत्यारोपण पनि भइसकेको विज्ञहरू बताउँछन्।

ज्ञवालीका अनुसार हालसम्म शिक्षण अस्पतालमा झन्डै ७०० जनाको अङ्ग प्रत्यारोपण भइसकेको छ। त्यसमध्ये झन्डै ५०० वटा प्रत्यारोपणमा आफू सहभागी भएको डा. ज्ञवाली बताउँछन्।

उनका अनुसार एउटा निजी अस्पतालमा गरिएका ५५ वटा प्रत्यारोपणमा पनि आफू सहभागी भएको डा. ज्ञवालीको भनाइ छ।

सामान्यतया ‘लाइभ डोनर’का हकमा प्रत्यारोपण सफल हुने सम्भावना ९० देखि ९५ प्रतिशतजति भए पनि शिक्षण अस्पतालमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएका छन्।

अहिले सम्म शिक्षण अस्पतालमा आठ जनामा दोस्रो पटक प्रत्यारोपण गरिएको र ती सबै प्रत्यारोपण सफल भएको जानकारी उनले दिए।

मुलुकका कार्यकारी प्रमुखको शल्यक्रिया गर्ने टोलीको मनोभाव कस्तो छ भन्ने बीबीसीको प्रश्नमा डा. ज्ञवालीले भने, “यो हाम्रो लागि अन्तिम परीक्षाजस्तै हो। प्रधानमन्त्रीले नेपालमै प्रत्यारोपण गराउनुले ठूलो महत्त्व राख्छ। सञ्चारमाध्यममा देखिएको प्रचारले हामीलाई निकै सचेत बनाएको छ।”

“तर शल्यक्रिया प्रक्रिया सुरु हुनासाथ हाम्रा लागि सामान्य बिरामी र प्रधानमन्त्रीमा फरक भने हुँदैन।”