क्वारेन्टाइनमा बसेर फर्केकाहरूलाई सरकारले दियो यस्तो जिम्मेवारी - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

क्वारेन्टाइनमा बसेर फर्केकाहरूलाई सरकारले दियो यस्तो जिम्मेवारी



भक्तपुर- १४ दिन खरिपाटीस्थित क्वारेन्टाइनमा बसेर फर्केका नेपालीहरूलाई सरकारले कामको जिम्मा दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।

सरकारले यही फागुन ४ गते चीनको वुहानबाट उद्धार गरी ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई सोमबार क्वारेन्टाइनमा बिदाइ गर्दै कोराना भाइरसको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गरेका हुन् ।

गत शनिबार यहाँ रहेका सबैको नाक र घाँटीको स्वाब सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीलाई १६ दिनपछि सोमबार घर पठाएको हो ।

बिदाइ कार्यक्रममा राज्यमन्त्री रावतले भने, “हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको छ, यो समस्यालाई सहजै हल गर्न सकियो, अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कारोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्न तपाईहरु सोमबारदेखि लाग्नु हुनेछ विश्वास लिएका छौं ।”

उनले घर फर्किएका सबैको दिर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताए ।

क्वारेन्टाइनमा रहेका नेपालीलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पुर्याएको बताउँदै नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताए ।

क्वारेन्टाइनका विद्यार्थीको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुँयालले क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खटिनुभएका डा रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताइन् ।

स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थाका लागि सरकारप्रति आभार व्यक्त गरेका थिए ।

चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई गत फागुन ४ गते उद्धार गरी ल्याइएको थियो ।

उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।