गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन: उपप्रधानमन्त्री पोखरेल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन: उपप्रधानमन्त्री पोखरेल



कैलाली- सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।

पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आएको पनि बताएका छन् ।

उनले कार्यक्रममा बाहिरी शक्तिसँग मात्र नभई आफैँ भित्रका समस्यासँग पनि जुधेर यहाँसम्म आएको बताएका हुन् ।

गलत कुरा बोकेर कम्युनिष्ट पार्टीमा रहन कसैलाई अधिकार नभएको बताउँदै पोखरेलले भने, ‘कम्युनिष्ट पार्टीको मान्छे विभिन्न ओहदामा बसेर यदि गलत कुरा गर्छ भने त्यसलाई हामी मुर्दावाद भन्छौँ, कहिल्यै जिन्दावाद भन्न सक्दैनौँ ।’

उनले देशभरिका जनताको चाहनालाई मूर्त रुप दिन पार्टी एकता गरिएको उल्लेख गरे ।

‘राष्ट्रिय आवश्यकतालाई पूरा गर्नका लागि पार्टी एक भएको हो’, उनले भने, ‘हाम्रो एकता राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि नभई स्थायित्वका लागि हो ।’

उनले एकतालाई कहीँबाट कमजोर बनाउने काम हुन्छ भने कुनै हालतमा स्वीकार गर्न नसकिने विचार व्यक्त गरे ।