कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवार
झापा- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् ।
झापाको चन्द्रगढीमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।
आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा नेता सिटौलाले आफु सभापतिको उम्मेदवार नहुने भन्ने भ्रम त्यागिदिन आग्रह गरे ।
उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए ।
नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने नेता सिटौलाले बताए ।