एमसीसी र वामदेवका कारण लीलामणि फिर्ता - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एमसीसी र वामदेवका कारण लीलामणि फिर्ता



काठमाडौं- एक कुशल पूर्व प्रशासक र कुटनीतिज्ञको छवि बनाएका चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको कामप्रति असन्तुष्टी जनाउँदै फिर्ता बोलाउने निर्णयले सबै आश्चर्य चकित परेका छन् ।

आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले हठात् यस्तो निर्णय गरेपछि जनस्तरबाट यसको बिरोध भैरहेको छ भने सरकारको अर्को अलोकप्रिय कदम भन्दै आलोचना पनि भैरहेको छ ।

उनको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धले थप उचाई पनि लिएको विश्लेषकहरू बताउने गरेका छन् । दशकौंदेखि हुन नसकेको चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण पनि यही समयमै भयो। नेपाल र चीनबीच सम्बन्ध विस्तार गर्न पौड्यालले आफ्नो ठाउँबाट भूमिका खेलका छन्।

सरकारको मुख्य सचिवको भूमिका सफलतापूर्वक निर्वाह गरेका पौड्यालको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा उनलाई फिर्ता बोलाउनु र तत्कालै अर्को पात्र राजदूतका लागि उभ्याइनु कुनै अर्थमा पनि सामान्य घटना भने होइन ।

सफलतापूर्वक नै काम गरिरहेको राजदूतलाई कुनै स्पष्टीकरण नसोधी हठात् हटाउनु सरासर पूर्वाग्रह भएको अनुमान गरिएको छ । कुनै देशमा राजदूत पद खाली भैहालेपनि आन्तरिक छलफल मार्फत उपयुक्त समयमा उपयुक्त पात्रको छनोट गर्न सकिन्छ।

विना कारण राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले प्रर्वाग्रही राजनीतिक रुप देखाएका छन्। जब नेकपाभित्र राष्ट्रियसभा सदस्यमा पठाउन वामदेव गौतम र युवराज खतिवडाबारे बहस भयो, तब पूर्वाग्रहपूर्वक राजदूत पौड्यालमाथि प्रहार भएको कुरा स्पष्ट बुझ्न सकिन्छ।

स्रोतका अनुसार तत्कालिन माओवादीको सरकारले नियुक्त गरेका कारण उनि तानिनु परेको बताइएको छ । प्रचण्ड समुहले बामदेव गौतमको बारेमा अडान लिइरहेका बेला उनैले नियुक्त गरेका पौडेल तान्ने खेल भएको बताइन्छ ।

त्यतिमात्र होइन एमसीसी, इन्डो प्यासेफिक र बीआरआई पनि मुख्य कारण भएको केहीको दाबी छ ।