कोरोना प्रभाव: पाँच देशका नागरिकलाई भिसा बन्द - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कोरोना प्रभाव: पाँच देशका नागरिकलाई भिसा बन्द



काठमाडौं : सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ।

यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको हो।

अध्यागमन विभागले हङकङसहित चीन, जापान, दक्षिण कोरिया, इटाली र इरानका नागरिकलाई एक महिनासम्म अनअराइभल भिसा नदिने निर्णय लिएको हो।

यी देशहरुमा कोरोना भाइरस तीव्रगतिमा फैलिएको छ। चीनमा २८ सय भन्दा धेरैको ज्यान गइसकेको छ। इटली, इरान, जापान र कोरियामा पनि कोरोना महामारीकारुपमा फैलिइरहेको छ।

यी देशका नागरिक नेपाल आउनुपरेमा त्यहाँस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा औचित्य पुष्टि गर्नुपर्ने छ।

यसअघि नेपालले इराकसिहतका १३ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ।

कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरिसकेको छ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण विदेशबाट आउनेका लागि भिसामा कडाइ गर्न गृहलाई निर्देशन दिएको थियो।

आइतवार नैं स्वास्थ्यमन्त्रालयले भीड धेरै जम्मा हुने सभा, समारोह र महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ।