संसदमा जुत्ताको बहस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

संसदमा जुत्ताको बहस



काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सबै मिलेर नेतृत्वमाथि विश्वास कायम गर्नुपर्ने बताएका छन्।

आइतबार राष्ट्रियसभा गृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै जुम्लाका रतन तिरूवाले जुत्ता प्रहार गरेका थिए।

राष्ट्रियसभा गृहमा जस्तै घटना देशैभर हुन सक्ने भन्दै सांसद मुसलमानले त्यस्ता घटनाले लोकतन्त्र नै धरापमा पर्न सक्ने बताए।

‘लोकतन्त्रमा नेतृत्वमा रहेका नेताहरूप्रति जुन किसिमको वितृष्णा पैदा भइरहेको छ, यसले तत्काल हामी सबै दलहरूका बीचमा एउटा सहमति भई राष्ट्रलाई निकास दिनुपर्ने आवश्यकता छ,’ सोमबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद मुसलमानले भने, ‘राष्ट्रियसभा गृहमा जुन घटना घट्यो त्यो देशव्यापी घट्यो भने कहीँ न कहीँ लोकतन्त्र धरापमा पर्न सक्छ त्यसैले यसमा सबै दलहरू एक ठाउँमा उभिनुपर्छ।’

उनले नेतृत्वप्रति विश्वास दिलाउनुपर्ने पनि बताए। सांसद मुसलमानले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

‘प्रधानमन्त्रीज्यूको मिर्गौला सफल प्रत्यारोपण हुनेछ। उहाँको सु-स्वास्थ्यको कामना पनि गर्छु। कांग्रेस र व्यक्तिगत तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भने।