म्यानपावर व्यवसायी र श्रममन्त्री यादवको मायाजाल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

म्यानपावर व्यवसायी र श्रममन्त्री यादवको मायाजाल



काठमाडौं- अन्य मन्त्रीको तुलनामा कार्यसम्पादन राम्रो भए पनि विष्ट बर्खास्तीमा परेपछि गोकर्ण विष्ट यतिबेला पूर्वमन्त्री भइसकेका छन् । रिजल्ट निकाल्न प्रयासरत हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अयोग्यको बिल्ला लगाइदिएको भन्दै उनी रुष्ट छन् ।

यद्यपि, उनले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका भने छैनन । विष्टको कार्यकालमा वैदेशिक रोजगार व्यवसायीहरूसँग सुमधुर सम्बन्ध रहेन । वैदेशिक रोजगार व्यवसायीको ठगी र बेइमानीविरुद्ध विष्ट उभिएकै कारण उनी बर्खास्तीमा परेको कतिपयको ठम्याइ छ ।

विष्टको कार्यकालमा वैदेशिक रोजगार व्यवसायीसँग पानी बाराबारकै अवस्था रहे पनि रामेश्वर राय यादव भित्रिएसँगै भने सम्बन्ध सुध्रिने मात्रै होइन, सुमधुर नै बन्न पुगेको छ ।

विष्टले वैदेशिक रोजगार व्यवसायीहरूलाई ढिम्किन नदिए पनि यादवले रातोकार्पेट ओछ्याएर मन्त्रालयमा स्वागत गरेका छन् । त्यसैले मन्त्रालयमा हिजोआज म्यानपावरका मान्छेहरूको बाक्लो आउजाउ हुने गरेको छ ।

‘पूर्वमन्त्री विष्ट र म्यानपावर व्यवसायीबीच पानी बाराबारको सम्बन्ध भए पनि यादव भित्रिएसँगै अवस्था बदलिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘कम्युनिस्ट मन्त्रीका लागि अहिले म्यानपावर व्यवसायी श्रमिकभन्दा पनि प्रिय हुन थालेको छ ।’

साँघु साप्ताहिकका अनुसार म्यानपावर व्यवसायी र मन्त्रीबीचको सम्बन्धको छाया विस्तारै मन्त्रीको कदममा समेत देखिन थालेको बताइन्छ । स्रोतका अनुसार, विष्टले श्रमिकका पक्षमा नभएकाले कतिपय देशसँगका श्रम सम्झौतालाई अन्तिम रूप दिएका थिएनन् ।

विष्टले श्रमिकको हित सुनिश्चित हुने गरी सम्झौताको तयारी गरिरहेका थिए । तर, मन्त्री यादव भित्रिएसँगै विष्टले रोकेका फाइलहरू धमाधम अगाडि बढ्न थालेका छन् । ‘मन्त्री यादव आएसँगै म्यानपावर व्यवसायीहरूको भाग्य खुलेको छ । व्यवसायीले जे भन्छन् त्यही मन्त्रीबाट खुरुखुरु हुन थालेपछि म्यानपावर व्यवसायी गदगद भएका छन् ।’

एक वर्षअघि मौरिसससँग श्रम सम्झौता भए पनि बीचमा रोकिएको थियो । अहिले मन्त्रीले त्यसलाई अगाडि बढाएका छन् । यही प्रक्रिया टुंग्याउन यादव नेतृत्वको टोली मौरिसस पुगेर सोमबार स्वदेश फर्कदैछ ।

जानकारहरू मौरिसस जाँदा मन्त्री यादव म्यानपावर व्यवसायीहरूको चासो सम्बोधन गर्ने गरी गएको बताउँछन् । म्यानपावर व्यवसायी मन्त्री विदेश जाँदा फूलमाला लिएर पुग्ने परम्परा यसअघि नभए पनि आफ्नो स्वार्थ बोकेर मन्त्री मौरिसस गएकै कारण उनीहरू बिदाइका लागि विमानस्थल पुगेको मन्त्रालय स्रोत बताउँछ ।

वैदेशिक रोजगार व्यवसायीको मायाजालमा परेका मन्त्री यादवले उता जापान कामदार पठाउने विषयमा पनि व्यवसायीको पक्षमा निर्णय गर्ने संकेत देखाएका छन् ।

विगतका ठगीलाई मध्यनजर गर्दै विष्टले सरकारीतबरबाटै कामदार पठाउने तयारी गरे पनि उनले व्यवसायीको स्वार्थमा परेर उनीहरूलाई पनि यसमा सहभागी गराउने तयारी गरेका छन् । तर, श्रमिक पक्षधरहरू म्यानपावरबाट पठाउँदा शोषण हुने भएकाले यसमा सरकारकै संलग्नता हुनुपर्ने पक्षमा छन् ।