यसरी गरिँदैछ प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण
काठमाडौं-लामो तयारी र छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला दोस्रो पटक प्रत्यारोपण गरिने भएको छ ।
सुरुमा अमेरिकामा लगेर प्रत्यारोपण गर्ने तयारी गरिएको थियो । अमेरिका लैजाने तयारीमा चिकित्सक समेत त्यहाँ पुगेर फर्केकी थिइन् ।
बिशेषगरी दोस्रो पटक प्रत्यारोपण गरिने भएकाले पनि प्रधानमन्त्री ओलीको प्रत्यारोपण धेरै संवेदनशील छ । त्यसैले लामो समय परामर्श र तयारी गरिएको थियो ।
विदेशका अस्पतालहरुमा दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने सम्भावनाबारे छलफलपश्चात प्रधानमन्त्री ओलीको मिर्गौला नेपालमै प्रत्यारोपण गर्न लागिएको हो।
यसअघि उनको १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको प्रत्यारोपित मिर्गौलाको कार्याक्षमतामा ह्रास आएपछि केही महिनायता उनले नियमित डायलासिस गर्दै आएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नजिकैकि आफन्तको (नातिनी पर्ने)सँग ‘म्याच’ भएको बताइएको छ ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।
ओलीको पहिलो मिर्गौला प्रत्यारोपण दिल्लीको अस्पतालमा गरेका थिए भने दोस्रो प्रत्यारोपण देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका छन् ।
उनको उपचार तथा प्रत्यारोपण सम्बन्धि सबै डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने जनाइएको छ ।
पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्यक्रिया समेत सोही अस्पतालमा गराएका थिए ।