ईश्वर पोखरेलले भने: रोगीहरूले सरकार ढाल्न खोजे
काठमाण्डौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली राजनीतिज्ञहरुमनोरोगी भएको बताएका छन्।
उनले मनोरोगीहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु गरेको समेत दाबी गरेका छन् ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज काठमाण्डौंमा गरेको कार्यक्रममा उनले सरकार गठन भएको दुई वर्ष पुगे लगत्तै अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भएको जिकिर गरे ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली राजनीतिज्ञहरु मनोरोगले ग्रसित हुँदै गइरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्र पनि त्यस्ता मनोरोगीहरु रहेको टिप्पणी गरे ।
उनले सत्ता र कुर्सी नै सर्वोपरी ठान्नेले मुलुकको विकास र समृद्धिमा सहयोग गर्छन् भन्ने विश्वास गर्न नसकिने दावी गरे ।
उपप्रधानमन्त्री पोखरेलले सरकार सञ्चालनको भर्खर २ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमा धेरै नीतिगत सुधार भएको र तीन वर्षभित्र सरकारको परिणाममुखी काम देखिने बताए ।
कार्यक्रममा सञ्चारकर्मीहरुले सञ्चार जगतसँग सम्बन्धित कानुनको निर्माण गर्दा आफुहरुसँग कुनै परामर्श नगरेको गुनासो गरेका थिए ।