बास्कोटालाई कारबाही गर्न ओलीमाथि चौतर्फी दवाव - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटालाई कारबाही गर्न ओलीमाथि चौतर्फी दवाव



काठमाडौं- ७० करोड कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्न चौतर्फी दवाव बढेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको लागि स्विस कम्पनीको एजेन्टसँग बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक हुँदा पनि उल्टै प्रधानमन्त्री ओलीले ढाकछोप गरेको भन्दै ओली माथि नै दवाव बढेको हो ।

यता बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन समेत गरेको छ ।

नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।

नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।

स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

उनले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्तासमेत गरेका छन् ।