ईश्वर पोखरेलको आरोप: जङ्गली र लुटाहाहरुले सरकार ढाल्न थाले - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ईश्वर पोखरेलको आरोप: जङ्गली र लुटाहाहरुले सरकार ढाल्न थाले



काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक लुट्नेहरुले नेताको छाता ओढेको बताएका छन् ।

इटहरीमा आयोजित नेकपा सम्वद्ध पत्रकारहरुको संस्था प्रेस संगठनको सपथ ग्रहणमा शनिबार उनले मुलुक लुट्नेहरु सल्बलाइरहेको उनले बताए । लुटको स्वर्ग बचाउन चाहनेहरु नेताका जंगली आकांक्षा सुम्सुम्याएर सरकार गिराउन खोजेको आरोप उनको थियो ।

‘नेताहरुका छाता ओढेर देश लुट्नुसम्म लुटेका छन्’, कार्यक्रममा पोखरेलले भने, ‘नेताहरुका जंगली आकांक्षा सुम्सुम्याएर लुटाहाहरु सरकार ढाल्न सक्रिय भएका छन् ।’

नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका शक्ति मिलेर सरकार ढाल्ने खेलमा तल्लीन रहेको आरोप लगाए ।

‘बिग हाउस चलाएर सरकारलाई देखाउने एउटा र बास्तविक अर्को खाता खोल्नेहरुले दशकौं दशकदेखि लुटेर खाइरहेका थिए, धनी बनिरहेका थिए’, उनले भने, ‘उनीहरुले अब यो नहुने भएपछि सरकार गिराउन पाइयो भने आफ्नो त्यो लुटको अभ्यासलाई निरन्तरता दिन सकिन्थ्यो भन्ने ठानेका छन् ।’

पोखरेलले सरकारका सानातिना काममा नेकपाले खोजीनीति गर्न नहुने जिकिर गरे । ‘पार्टीले सरकारलाई सिरक डसनासमेत किनिदिएको जस्तो गरेर एकएक कुरामा खोजीनीति गर्नु राम्रो होइन ।’

प्रधानमन्त्रीय प्रणालीमा पार्टीले प्रधानमन्त्री पार्टीले बनाउने भए पनि प्रधानमन्त्रीको काममा पार्टीले हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । केपी ओलीका अगाडि आफ्नो मानमनितो नभएपछि नेताहरुले कहाँ पाऊँ, अगुल्टो झोसौं जस्तो गरेको भन्दै पोखरेलले कटाक्ष गरे ।

सरकारले राम्रो काम गरिरहेको भए पनि विरोधका लागि विरोध गरिएको जिकिर उनको छ ।