नेकपाले डाक्यो सचिवालय बैठक: प्रधानमन्त्रीको स्पष्टीकरण लिने तयारी
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।
आइतवार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक महत्वपुर्ण मानिएको छ ।
पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न सचिवालय बैठक बोलाइएको जनाइएको छ ।
यसअघि बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजान राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले उल्ट्याएपछि तनावको अवस्था सृजना बहेको छ ।
हाल अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र विवाद निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् ।
आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्देशन नमानेको भन्दै स्पष्टिकरण सोध्ने तयारी तयारी गरिएको स्रोतले जनाएको छ ।
यद्यपी शुक्रबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसेको ओली बाहेकका शीर्ष नेताको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयनमा जोड दिएको थियो।
अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिएका छन्।
नेकपाभित्र बढेको कलहले कतै पार्टी नै फुट्ने त होइन भन्ने सम्मका अड्कलबाजी सुरु भएका छन्।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने आजको सचिवालय बैठकले पार्टीभित्र देखिएका सबै समस्याको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन्।