ओली गुटले भीम रावललाई निषेध गरेको आरोप - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

ओली गुटले भीम रावललाई निषेध गरेको आरोप



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले धनगढी विमानस्थलमा आफ्नो अपमान भएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम भेला तथा प्रशिक्षण कार्यक्रमका लागि उनी शनिवार बिहान श्री एयरको जहाजबाट धनगढी ओर्लिएका थिए ।

नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उनलाई विशिष्ट कक्षतिर जान सेनाले रोकेको थियो । सेनाले हातको इसाराले यात्रुमार्गतिर पठाएको नेता रावलले सुनाए ।

प्रदेश पार्टी कार्यालयमा उनले यो घटनाले अचम्मित तुल्याएको बताए । ‘जनताले प्रतिनिधि चुनेर पठाएका व्यक्ति हौँ, हामीले पनि हिजोका दिनमा देशको प्रमुख/उपप्रमुख जिम्मेवारी सम्हालेका हौँ,’ उनले भने, ‘तर विमानस्थलमा किन यस्तो गरियो ?’

पार्टीका प्रदेश अध्यक्ष कर्ण थापा, सहअध्यक्ष भानुभक्त जोशी र जिल्ला सदस्य दुर्गाप्रसाद जोशीले आफूलाई देखे पनि विशिष्ट कक्षमा जान नभएको उनले सुनाए ।

‘मैले पार्टीका प्रदेश अध्यक्ष, सह अध्यक्ष र जिल्ला सदस्यलाई विशिष्ट कक्षमा जान लागेको देखिरहेको छु तर मलाई रोकियो,’ उनले भने, ‘त्यसमा सेनाको कुनै दोष छैन ।’

थापा ओलीनिकट नेता मानिन्छन् ।

आदेश पालना गर्ने भएकाले सेनाले रोक्नु स्वाभाविक भएको उनले बताए ।

उनी चढेर आएको जहाजबाटै राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बिहान काठमाडौँ फर्किने तय भएको थियो ।

विमानस्थलको विशिष्ट कक्ष बिहानदेखि कडा सुरक्षा घेरामा थियो । सेनाले सुरक्षा जांच गरिरहेका बेला रावललाई विशिष्ट कक्षमा प्रवेश रोकिएको हो ।