पार्टी फुटेपनि काङ्ग्रेससँग सरकार चलाउने ओलीको तयारी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पार्टी फुटेपनि काङ्ग्रेससँग सरकार चलाउने ओलीको तयारी



काठमाडौं- नेकपा नेताहरु हतारमा निर्णय गर्छन्, फुर्सदमा झगडा।

पछिल्ला घटनाक्रमले यो कथनलाई अझ पुष्टि गर्छन्।

हतारमा पार्टी एकता गरेर हुनुपर्छ, यो प्रक्रियाले अझैसम्म पूर्णता पाएको छैन।

बरु सत्ताको छिनाझपटी सतहमा देखिएको छ।

प्रधानमन्त्री केपी ओलीदेखि नेकपा सचिवालयका शक्तिमान ९ नेताहरु समीकरण फेरबदलमार्फत सत्ताको जोडघटाउमा लागेका छन्।

फलतः दुईतिहाइनजिक भएर पनि सरकार अस्थिर देखिएको छ।

पहिलो बरियताका अध्यक्षसमेत रहेका ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री चलाउने स्वभाविक चाहना छ।

पुरानो सहमतिबाट एक कदम पछि हटेर प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएर ओलीले थामथुम पारे।

वामदेव गौतमलाई सत्तायात्रामा हिँडाउने चाहना नहुँदानहुँदै ‘ग्रिन सिग्नल’ दिए।

ओली अहिले त्यही पासोमा फसेका खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्।

स्रोतका अनुसार ओली यतिबेला केही समय लचक नै भएर प्रचण्ड गठबन्धनलाई फुटाउने वा गलाउने दाउमा छन्।

तर अचाक्ली नै गर्दै गए र स्वास्थ्यले साथ दिइरहे पार्टी फुट्छ भने पनि त्यसको सामना गर्ने मानसिकतामा समेत उनी पुगेका छन्।

त्यसैको लागि उनले कांग्रेस नेताहरुसँगको भेटलाई सघन बनाएको स्रोतको दाबी छ।

ओलीसँगको भेटपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘उस्तै परे कांग्रेस सरकारमा पनि जान सक्छ’ भनेको स्रोतको दाबी छ।

पार्टी विभाजनको अवस्था आइलागे पूर्वएमालेको सबैजसो हिस्सा आफैँसँग रहने ओलीको विश्वास छ।

त्यसपछि कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गर्ने ओलीको योजना छ।

यस्तो अवस्थामा प्रचण्डको राजनीतिक भविष्य जोखिममा पर्ने प्रधानमन्त्री पक्षधरको ठम्याइ छ।