भीम रावललाई धनगढी विमानस्थलमा सुरक्षाकर्मीले रोकेपछि…
काठमाडौं- पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिइएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।
सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री समेत भइसकेका उनलाई शनिवार काठमाडौंबाट धनगढी विमानस्थल पुग्दा सुरक्षाकर्मीहरूले निषेध गरेका थिए।
नेता रावलले विमानस्थलको विशिष्ट कक्षमा जान खोज्दा सुरक्षाकर्मीले रोकेको बिषय सामाजिक सञ्जालमा पनि यतिबेला भिराल बनेको छ ।
सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री समेत भइसकेका भीम रावल अरु बेला विशिष्ट कक्षमा गएर पत्रकार भेटघाट समेत गर्ने गर्दथे तर शनिवार उनलाई विशिष्ट कक्षमा जान दिइएन ।
नेता रावलले पछि सोधखोज गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण आफूलाई विशिष्ट कक्षमा जान नदिइएको थाहा भएको बताएका छन् । धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रावलले पूर्व जानकारी विना विमानस्थलमा रोक लगाइनु आश्चर्यको विषय भएको बताए ।
‘आजै राष्ट्रपति फर्किने कार्यक्रम रहेछ । यसबारे मलाई प्रशासन वा पार्टी कतैबाट पनि जानकारी थिएन,’ उनले भने, ‘विमानस्थलको विशिष्ट कक्षमा सुरक्षा निकायले रोक्यो । राष्ट्रपतिको भ्रमणको सिलसिलामा सुरक्षा अध्ययन गरेर सुुरक्षाका विभिन्न आयाम हुन्छन्, ती कुरा म बुझ्दछु तर त्यसबारे पूर्व जानकारी गराइएको भए हुन्थ्यो ।’
पूर्व जानकारी विना आफूलाई विमानस्थलको विशिष्ट कक्षमा रोक्ने व्यवहारले आश्चर्य लागेको नेता रावलले बताए ।
‘आश्चर्य के लागेको छ भने हामी पनि जनताबाट निर्वाचित भएर संसदमा पुगेका छौं । पार्टीलाई यहाँसम्म पुर्याउने भूमिकामा छौं । सुदूरपश्चिमकै जनताले विश्वास गरेर प्रतिनिधि सभामा पठाएका छन्,’ उनले भने, ‘प्रशासनको जिम्मेवार व्यक्तिले पूर्व जानकारी दिनुभयो । जानकारी अनुसार गर्न मलाई कुनै अप्ठ्यारो छैन । कुनै जानकारी नगराएर त्यसरी त्यहाँबाट किन त्यस्तो व्यवहार गरियो मलाई आश्चर्य लागेको छ । यो गणतन्त्र हो । यो गणतन्त्रमा हामी जनतालाई सार्वभौम भन्छौं । जनताका प्रतिनिधि जो निर्वाचित भएर जान्छन्, प्रतिनिधिको पनि आफ्नो स्थान हुन्छ । हामी जत्तिको व्यक्तिलाई पूर्व जानकारी हुनुपर्छ ।’