तस्करीको सबै सुन प्रहरीले नै बाँडेपछि... - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

तस्करीको सबै सुन प्रहरीले नै बाँडेपछि…



काठमाडौं- नियन्त्रणमा लिएको सुन बाँडेर लिएका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिशअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ।

चीनको केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन्।

यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउनसक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ।