डा.बाबुरामले भने: प्रधानमन्त्री लगायत सबैको सम्पत्ति छानबिन गरौँ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डा.बाबुरामले भने: प्रधानमन्त्री लगायत सबैको सम्पत्ति छानबिन गरौँ



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा आफूमाथि लागेका आरोपहरूबारे प्रष्टिकरण दिँदै भट्टराईले जनलोकपाल व्यवस्था गर्न जरूरी भइसकेको बताएका हुन्।

खासगरी राजनीतिक नेतृत्वमा रहेका सबैको आर्थिक हैसियतबारे छानबिन हुनुपर्ने उनको भनाई थियो। त्यसका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने भट्टराईको सुझाव थियो।

संविधान संशोधनको चर्चा भइरहेको प्रशंग निकाल्दै भट्टराईले कसैलाई जस्केलाबाट लगेर प्रधानमन्त्री बनाउने नभई भ्रष्टाचार रोक्न र शासकीय स्वरुप बदल्नका लागि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

”भ्रष्टारचार नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री प्रधानन्यायाधीश लगायतको निगरानी गर्ने र उनीहरूलाई समेत कारबाही गर्ने हैसियत भएको एउटा निकाय चाहिन्छ।”

उनले थपे, “त्यसैले निर्वाचित सदनप्रति जिम्मेवार हुने जनलोकपालको व्यवस्था गरौं”, भट्टराईले भने, ”संविधान संशोधन गरौं प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक सदन र जनलोकपालका लागि र, सबैको सम्पत्ति छानबिन गरौं।”

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति प्रतिशोधपूर्ण व्यवहार देखाएको आरोप पनि लगाएका छन्। प्रक्रियासँगतरुपमै आफू प्रधानमन्त्री हुँदा मातातिर्थ महादेवस्थान र सतुंगलका जोताहा-मोही किसानलाई जग्गा दिएको बताएका भट्टराई त्यससम्बन्धि कागजातहरू बोकेरै सदनमा पुगेका थिए।