मातातीर्थको जग्गाबारे बाबुरामले खुलाए रहस्य - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मातातीर्थको जग्गाबारे बाबुरामले खुलाए रहस्य



काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरेका छन् ।

उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।

उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले राजा महेन्द्रले सूचना जारी गरेर हकपरित्याग गरेको रेकर्ड रहेको भन्दै त्यसवेला रैकर भएको जग्गा पुनः टाठाबाठाहरुले २०४६ सालमा फेरि राजाका नाममा दर्ता गरेको पाइएको जानकारी दिए ।

उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए ।

आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिए’जस्तै भएको बताए ।

उनले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै ललितानिवास प्रकरणसँग मातातीर्थको जग्गा प्रकरण जोड्न नमिल्ने बताए ।

मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते प्रधानमन्त्रीले संसदमा चर्चा गरेका थिए । उनले त्यसदिन मातातीर्थको १७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै छानविन गर्ने बताएका थिए ।

प्रधानमन्त्रीले यसो भनेपछि डा.बाबुराम भट्टराई स्थानीयलाई भेट्न मंगलबार मातातीर्थ नै पुगेका थिए ।

डा.भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको बताए । भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’

डा. भट्टराईले सरकारले जोताहा गरिब किसान मोहीलाई नदिएर यति होल्डिङसलाई नै दिने हो भने त्यसवारे छुट्टै बहस गर्न सकिने भन्दै व्यङ्ग्य गरे ।