प्रधानमन्त्री ओलीमाथि राज्यद्रोह गरेको आरोप - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओलीमाथि राज्यद्रोह गरेको आरोप



भरतपूर- समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजीनामा गर्नु पर्छ भनेका छन् ।

देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको स्मरण गरे ।

उनले भने, ‘संघीयताले देशलाई काँक्रो चिरे जस्तो चिर्ने बताउने ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खाए । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उनलाई अव नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’

सहअध्यक्ष श्रेष्ठले समुन्नत संघीय समाजवादबारे प्रशिक्षणमूलक मन्तव्य दिंदै भने, ‘कांग्रेस र कम्युनिष्टले अगाडी सारेको समाजवादले देशको बहुराष्ट्रियतालाई सम्मान गर्न सकेन, समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरे । समाज र जनतालाई होइन राज्य र नेताहरूलाई पुजनीय बनाए ।’

देशका उत्पीडित राष्ट्रियताहरूको मुक्ति र समतामुलक समृद्धिका लागि संघीय समाजवादी गणतन्त्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवादले जातीय समस्या हल गर्न सक्दैन, समाजवाद बिनाको सङ्घीयताले वर्गीय समस्या हल गर्न सक्दैन ।

त्यसैले जातीय र वर्गीय दुबै समस्यालाई एकसाथ हल गर्न एकाइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित समुन्नत संघीय समाजवाद नै आजको एक मात्र वैचारिक विकल्प हो ।’

नेकपाले समृद्धि र सुशासनको कुरा धेरै गरे तर व्यवहार उल्टो गरे भन्दै सहअध्यक्ष श्रेष्ठले भने, ‘विरालोले दुध खाँदैन भन्दै दुधको साक्षी विरालो बनाउनु र नेकपाले भ्रष्टाचार गर्दैन भन्नु उस्तै हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद काण्डमा गोकुल बाँस्कोटाको टेप प्रकरणबाट नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको स्पष्ट भएको छ ।