हजारौँ नेपाली रहेको कोरियामा कोरोना त्रास: आफन्तहरू चिन्तामा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

हजारौँ नेपाली रहेको कोरियामा कोरोना त्रास: आफन्तहरू चिन्तामा



काठमाडौं- दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

हजारौँ नेपालीहरू रहेको दक्षिण कोरिया कोरोनाले आक्रान्त हुँदा नेपालमा उनीहरूका आफन्तहरू भने चिन्तामा डुबेका छन् ।

शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कूल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ।

डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताए।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन्।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एकम हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ।