बास्कोटाले भनेः एनिमेसन गरेर अडियो बनाए - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटाले भनेः एनिमेसन गरेर अडियो बनाए



काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका बाँस्कोटाले यस विषयमा बोलेका हुन् ।

कमशिन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । एउटा राजनीतिक मान्छेमाथि प्रश्न उठेपछि ठ्याक्क राजीनामा दिएको उनको भनाइ छ ।

‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, बाँस्कोटाले भने, ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।’

बाँस्कोटाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट पार्ने बताएका छन् ।

‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उनले भने, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।’

बाँस्कोटा प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाको गाडी चढेर बालकोट पुगेका हुन् । उनले उनको गाडी र उनका सुरक्षा गार्डलाई बालुवाटारमा छोडेर निस्किएका थिए ।