कोरियामा नेपालीहरू धमाधम पक्राउ पर्दै - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कोरियामा नेपालीहरू धमाधम पक्राउ पर्दै



काठमाडौं- दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए।

खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍याे। दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो।

‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाईि समातिएको रहेछ।

अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो। अर्काे हप्ता नेपाल पठाउने रे।’

केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको खबर दक्षिण कोरियाबाट गोकुल थोकर तामाङले आजको कान्तिपुरमा लेखेका छन्।

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यागन विभागले दिएको बताए।

‘हामीलाई कोरियाली भाषामा अरूका नामा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ,’ उनले भने।

कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड(परिचय पत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।