बास्कोटाको आरोप: पत्रकारहरू शिकारी जस्ता भए - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

बास्कोटाको आरोप: पत्रकारहरू शिकारी जस्ता भए



नेपालगञ्ज- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।

गोरखापत्र प्रकाशनद्वारा कोहलपुरमा आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिन दिनै नयाँ र दीर्घमहत्वका काम गरेको दावी गरे ।

‘समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ’ उनले भने ‘मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छौँ ।’

मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै ‘सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ ।’ उनले भने ।

उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए । ‘सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि । अब देश पछाडि फर्किन सक्दैन’ मन्त्री बाँस्कोटाले भने ।

एक आँखा चिम्लने प्रेस हैन शिकारी

गोरखापत्रलाई सत्ताको पत्रिका नबनोस् भन्दै उनले सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु नपर्ने धारणा राखे ‘तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।’

उनले भने । एक आँखो प्रेस हुँदैन भन्दै उनले एक आँखो चिम्लिने त शिकारी हुने टिप्पणी गरे । ‘प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ’ ।

उनले भने ‘तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।’

मन्त्री बाँस्कोटाले मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको दावी गर्दै अब मिडिया यति सवल हुने र वास्तविक रुपमा सरकारले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएको दावी गरे । ‘विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छाँै, अगाडि बढाएका छौँ ।’ उनको भनाई थियो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने धारणा राखे ।

‘देश बदल्ने बेला यही हो यति बलियो सरकार भएको बेला नबदलेर कहिले बदल्ने । पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्छ, बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जान्छन् ।’ उनले भने ।