बाबुराम र गच्छदारले बाँडे १७३ रोपनी सरकारी जग्गा: के हुन्छ अब ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बाबुराम र गच्छदारले बाँडे १७३ रोपनी सरकारी जग्गा: के हुन्छ अब ?



काठमाडौं- आजको अन्नपूर्ण पोस्ट्ले बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नेपाल ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेकाे विषयलाई मुख्य समाचार बनाएकाे छ । उसले ‘यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा’ शीर्षकमा खबर लेखेको छ ।

समाचारमा लेखिएको छ– तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको छ।

भट्टराई र गच्छदारले ट्रस्टको नाममा रहेका काठमाडौंको थानकोट, मातातीर्थ, बालाजु र सतुंगलका ती जग्गा मन्त्रिपरिषद्बाट ‘नीतिगत निर्णय’ गराई करिब सयजना व्यक्तिका नाममा दर्ता गरिदिएका थिए।

ती जग्गा कसरी व्यक्तिका नाममा दर्ता भए भन्नेबारे अध्ययन गरी सिफारिस गर्न ट्रस्टले समिति गठन गरेको थियो। समितिले गत जेठ ७ गते सिफारिस–प्रतिवेदन तयार गरेको समाचारमा जनाइएको छ ।

प्रतिवेदनअनुसार भट्टराई र गच्छदारले मातातीर्थको ५९ रोपनी एक आना तीन पैसा, थानकोट महादेवस्थानको एक सय २ रोपनी तीन पैसा, सतुंगलको एक रोपनी ६ आना एक पैसा र बालाजु (इचंगु) को १० रोपनी ६ आना एक पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गरिदिएका थिए।

उक्त समितिले आफ्नो प्रतिवेदन ट्रस्टलाई बुझाइसकेको छ भने ट्रस्टले सरकारी, सार्वजनिक तथा गुठी जग्गासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष पेस गरेको छ।

ट्रस्टको उक्त प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै आयोगका सदस्य जानकीबल्लभ अधिकारीले व्यक्तिका नाममा दर्ता भएका ती जग्गाबारे छानबिन भइरहेको बताए।