काठमाडौंको आकाश हेलिकप्टरले भरियो: आन्तरिक तथा बाह्य उडान ठप्प - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

काठमाडौंको आकाश हेलिकप्टरले भरियो: आन्तरिक तथा बाह्य उडान ठप्प



काठमाडौं- काठमाडौं उपत्यकाको आकाशमा मंगलवार दिउँसो धेरै हेलिकप्टर देखिएका छन् ।

नेपाली सेनाले शुक्रवार सेना दिवस तथा महाशिवरात्रिको अवसरमा गर्ने प्रदर्शनको पूर्वाभ्यासका क्रममा हेलिकप्टर उडाइएको हो ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा शिवरात्रिमा हुने सबै प्रकारका प्रदर्शन र देखाइने कवाजहरूको आज अन्तिम पूर्वाभ्यास गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शिवरात्रि तथा सेना दिवसका अवसरका देखाइने कवाज, हेलिकप्टर तथा विभिन्न प्रकारका संस्कृतिका झाँकीहरूको पूर्वाभ्यास गरिरहेको छ ।

राष्ट्रपति सवारी, प्रधानमन्त्री सवारीलगायत भीभीआईपी सवारीको पनि पूर्वाभ्यास गरिएको सेनाले जनाएको छ ।

रिहर्सलका कारण मंगलबार दिनभरिजसो आन्तरिक तथा बाह्य विमानहरु आकाशमा लामो समयसम्म होल्ड भएका छन्।

काठमाडौँनजिकै सिमराको आकाशमा कयौँ जहाजहरु विमानस्थलमा ओर्लन अनुमति नपाएर फन्को मारेका मार्‍यै छन्।

शिवरात्रीको तयारीका क्रममा हेलिकप्टरहरु उडाउनु पर्ने भएपछि आन्तरिक तथा बाह्य उडानहरु आकाशमै होल्ड भएका छन्।

सेनाको रिहर्सलका कारण यसै त सानो काठमाडौँ विमानस्थलको थुप्रै उडान र अवतरणहरु प्रभावित भएका छन्। नेपाली सेनाले शिवरात्रिलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ।