शिक्षकले यौन दुर्व्यबहार गरेको भन्दै ४५ जना छात्राले दिए सामुहिक उजुरी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शिक्षकले यौन दुर्व्यबहार गरेको भन्दै ४५ जना छात्राले दिए सामुहिक उजुरी



काठमाडौं- ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले १ फागुनमा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ हस्तलिखित सामुहिक उजुरी दिए।

३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ। केटीहरुलाई ढाडमा सुम्सुम्याउने, छात्तितिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने।

हामी यस्तो समस्यामा परेका छौँ। हामी यस्तो अत्याचार सहन सक्दैनौँ। नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले तपाईंहरुले छानविन गरिदिन अनुरोध गर्दछौँ।’

आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेको समाचार अनुसार आरोपित शिक्षक नन्दप्रसाद निरौता उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन्।

छात्राहरुको उजुरीपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो। गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो।

सोमबार हाजिरी जमानीमा आएका आरोपित शिक्षकलाई पुनः प्रहरीले हिरासतमा राखेको छ।

उजुरीको अघिल्लो पृष्ठमा १९ जनाले र पछिल्लो पृष्ठमा २६ छात्राले हस्ताक्षर गरेका छन्। छात्रा सबै १३ वर्ष मुनीका छन्।

विद्यार्थीका अभिभावकले यसको चाँडो र निष्पक्ष छानविन हुनुपर्ने बताएका छन्।