भारतले महाकालीमा बनाएको काठेपुल प्रहरीले हटायो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

भारतले महाकालीमा बनाएको काठेपुल प्रहरीले हटायो



दार्चुला- भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन्।

केही साताअघि ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो।

४ फागुनमा दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा पुल हालेको थियो।

व्यास-१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठको पुल प्रहरीले फालेका हुन्।

व्यास-१ कै कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन नसकेको एक प्रहरीले बताए।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त क्षेत्रमा सुरक्षा उपस्थिति नहुँदा त्यहाँ कार्यरत कामदारले सडक खनेका र अस्थायी काठेपुल लगाएको दाबी गरे।

आजको कान्तिपुर दैनिकको समाचार अनुसार प्रजिअ पौडेलले नेपाली कामदारले पुल राखेको बताए पनि सीमापारि भारतीय सुरक्षाकर्मीले नियमित गस्तीका बीच कामदारले सीमा नदीमा पुल हाल्नु असम्भव भएको स्थानीय बताउँछन्।

स्थानीय हिमाले भट्टले भने, “भारतले उक्त क्षेत्रमा मनोमानी डंगले सडक निर्माण गरिरहेको छ। काठेपुल त कामदारले वारिपारि गर्नलाई लगाए होला।

नेपाली भूमिमा आएर सडक बनाई डोजर ओसारपसार गर्नु कति ठूलो हेपाहा प्रवृत्ति हो।”