प्रचण्ड भन्छन: काङ्ग्रेस मुर्ख भएकैले कम्युनिस्टले भोट पाए
काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र हिंसालाई सात सालको क्रान्ति र झापा विद्रोहबाट पाठ सिकेर गरिएको सचेत विद्रोह भनेका छन्।
‘जनयुद्ध दिवस’ को अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा दाहालले झण्डै ३५ मिनेट खर्चेर नेपाली क्रान्तिको इतिहास, जनआन्दोलन र कम्युनिष्ट आन्दोलनको चर्चा गर्दै ‘जनयुद्ध’ को औचित्य पुष्टि गर्ने प्रयास गरे।
उनले झण्डै ७० वर्षअघि २००७ सालमा कांग्रेसले पनि हतियार उठाएको, २०२८ मा भएको झापा विद्रोहको ‘वर्गशत्रु खतम अभियान’ लगायतको चर्चा गरे। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि झापा विद्रोहमा संंलग्न रहेको चर्चा समेत उनले गरे ।
“२००७ सालतिर कांग्रेसले हतियार उठाएको थियो। राज्यका विरुद्ध कांग्रेसको नेतृत्वमा हतियार उठ्यो। २०१७ सालपछि पुनः कांग्रेसको नेतृत्वमा हतियार उठ्यो तर त्यो सफल भएन,” प्रचण्डले भने, “पञ्चायती व्यवस्था उग्रचरणमा विकास भइरहेको अवस्थामा कम्युनिष्ट युवाहरुको नेतृत्वमा झापा विद्रोह भयो। त्यो एउटा सशस्त्र संघर्ष नै थियो। कम्युनिष्ट पार्टीको नेतृत्वमा सशस्त्र आन्दोलन नै थियो।”
तत्कालीन आन्दोलनहरुबाट पाठ सिकेरै ‘जनयुद्ध’ सुरु भएको बताउँदै प्रचण्डले भने “०७ साल र २८ सालको क्रान्तिबाट शिक्षा लिएर आन्दोलन भएको छ । १६–१७ हजार मान्छेको मृत्यु हुने गरी भएको त्यो सचेत विद्रोह थियो।”
‘जनयुद्ध’का क्रममा तत्कालीन नेकपा एमालेसँग कटुता बढेको र पछि सहकार्य र निकै नजिकको सम्बन्ध विकसित भएको बताएका दाहालले वक्तव्यको बिट मार्दै भने, “ आन्दोलनमा र क्रान्तिमा जहिले पनि कम्युनिष्टहरु विजयी भएर आए तर, सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको बैचारिक स्खलनको प्रक्रिया, सांस्कृतिक स्खलनको प्रक्रिया, त्यागको ठाउँमामा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यही भयो‘।” उनले आफू भने सिद्धान्त प्रति निष्ठावान भएको दाबी गरे ।
‘जनयुद्धलाई’ विकास गर्दै जाने क्रममा कम्युनिष्टको नेतृत्वमा भएका सम्पूर्ण विद्रोहहरुलाई जोड्ने निर्णय आफ्नै नेतृत्वमा भएको सुनाउँदै उनले थपे, “झापा विद्रोह र सुखानीका सहिदहरुलाई माओवादीले जोड्ने भनेको थियो। त्यो जोडिएपछि हामीले सहिद सप्ताह मनाउने काम गर्यौं।”
नेपाली कांग्रेसप्रति आक्रमक हुँदै प्रचण्डले भने, “हामीले कांग्रेसलाई पनि साथ लिन खोज्यौं तर आन्दोलनको मुल नेतृत्व कम्युनिष्टले लिनु पर्छ भन्नेमा सर्तक थियौं। राजतन्त्र विरुद्धको आन्दोलनमा हामीले नेतृत्व लियौं। कांग्रेसले आफूलाई नेताको रुपमा प्रस्तुत गर्न सकेन। कांग्रेस सम्झौताबादी, यथास्थितिबादी, बाध्य भएपछि मात्र अलि अलि अगाडि सर्ने।”
उनले नेपाली कांंग्रेसकै ‘मुर्खता’ का कारण पनि कम्युनिष्टलाई सफल हुन बल पुगेको र त्यसै कारण दुईतिहाई बहुमत सम्भव भएको समेत दाबी गरे।
प्रचण्डले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको पनि बताए। उनले भने, “माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो।”
अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले उनीहरु सफल नहुने पनि बताएका थिए।