छात्रालाई नि:शुल्क सेनेटरी प्याड वितरण
कैलाली । बर्दगोरिया गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण गरिएको छ । सामुदायिक विद्यालयको आधारभूत तथा मावि तहमा अध्ययनरत छात्राहरुको सहजताका लागि भन्दै मंगलबार नि:शुल्क सेनेटरी प्याड वितरण गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट किशोरकिशोरी कार्यक्रम अन्तर्गत महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि सेन्च्युरी ब्याग वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले जानकारी दिए । पालिकाको वडा नम्बर-४ स्थित कालिका मावि नौनिया, वडा नम्बर-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डा र वडा नम्बर-५ स्थित जनता आधारभूत विद्यालय कोइलीभुरुवामा सो सामाग्री वितरण गरिएको हो ।
पहिलो चरणमा तीनवटा सामुदायिक विद्यालयमा ३० हजार मूल्यको सेनेटरी प्याड खरिद गरि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । सशर्त अनुदान अन्तर्गतको रकमबाट खरिद गरिएका ८ सय थान सेनेटरी प्याड विद्यालयका प्रअ मार्फत एकमुष्ट रूपमा हस्तान्तरण गरिएको छ ।
विद्यालयमा पुगेर गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, उपाध्यक्ष भगवतीदेवी डंगौरा, वडा नम्बर-१ का वडा अध्यक्ष एवं शिक्षा समिति संयोजक जयरुप खतिवडा , शिक्षा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्ट लगायतले सो सामाग्री वितरण गरेका हुन् ।