कोरोना भाइरस: अन्य देशमा चलेका हल्ला र प्रचण्ड-बिजुक्छेको आशंका - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कोरोना भाइरस: अन्य देशमा चलेका हल्ला र प्रचण्ड-बिजुक्छेको आशंका



बीबीसी- विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्षलाई हल्ला तथा आधारहीन आशङ्काले प्रभावित पारिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला नेपालका केही वरिष्ठ नेताहरूले पनि चीनमा फैलिएको उक्त भाइरसको प्रकोपमा बाह्य शक्तिको हात रहेको हुन सक्ने आशयका टिप्पणी व्यक्त गरेका छन्।

हालैका दिनमा नेपालका दुई वामपन्थी नेताहरूले गरेको टिप्पणीमा कोरोनाभाइरस सङ्क्रमणलाई ‘चीनको विकासको वेग रोक्ने प्रपञ्च पनि हुन सक्ने’ भाव झल्कन्छ।

उनीहरूले बोलेको कुराबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको छ।

चीनबाट सुरु भएको उक्त भाइरस विभिन्न देशमा फैलिएको छ। चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ भने त्यहाँ सङ्क्रमणबाट आइतवारसम्म ९०८ जनाको मृत्यु भइसकेको छ।

के भने प्रचण्डले?

केही दिनअगाडि बोल्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा ‘राजनीति मिसिएको’ अर्थपूर्ण टिप्पणी गरे।

उनले कोरोनाभाइरस सङ्क्रमणबारे “चीनलाई नरुचाउने वा मन नपराउनेहरूले” प्रचार गरेको दाबी गरे।

“यसको प्रचारमा चाहिँ चीनलाई नरुचाउने शक्तिहरूले राजनीति गरेर वातावरणलाई त्रसित बनाइदिन खोजेको पनि हुन सक्छ,” उनले भने।

के भने बिजुक्छेले?

उनीभन्दा अझ अघि बढेर नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त सोझै यो प्रकरणलाई चीनलाई तल खसाल्ने पश्चिमा षड्यन्त्रसँग तुलना गरेका छन्।

आइतवार भक्तपुरमा बोल्दै उनले पश्चिमा देश विशेषत: अमेरिकालाई चीनले विकासमा पछार्न लागेकाले दु:ख दिने उद्देश्यका साथ कोरोनाभाइरस सङ्क्रमण गराएको हुन सक्ने बताए।

“अबको २५ वर्षमा त हामीलाई पछार्छ र पुँजीवाद खत्तम हुन्छ भन्ने थाहा पाएर चीनलाई अब कसरी दु:ख दिने हो भन्ने तिनीहरूको मनमा परेको छ। सम्भवत: अहिले यो अचानक जुन कोरोनाभाइरस भनेर फैलाएको छ त्यो उनीहरूले नै फैलाएको हो कि भन्ने लाग्छ,” बिजुक्छेले भनेका थिए।

दुवै नेताले आफ्ना आशङ्का पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

संसारभरि कस्ता हल्ला?

चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले विश्वभरि नै षड्यन्त्र, आशङ्का र अफवाह फैलाउन मलिलो आधार प्रदान गरेको पाइएको छ।

इन्टरनेटका प्राय: सबै माध्यममा हल्ला फिँजिएको छ।

रुसमा त त्यस्ता हल्लाले प्राइमटाइम टेलिभिजन कार्यक्रममा समेत स्थान पाएका छन्।

साथै ती रुसी प्रचारबाजीको एउटा उल्लेखनीय पक्ष चाहिँ तिनले अज्ञात पश्चिमा र अझ खासगरी अमेरिकालाई लगातार यसमा दोषी देखाउन खोजेका छन्।

त्यहाँको एक मुख्य राष्ट्रिय टेलिभिजन नेटवर्क च्यानल वनले कोरोनाभाइरससम्बन्धी षड्यन्त्रका विषयवस्तु समेटेर विशेष कार्यक्रम उसको मुख्य सन्ध्याकालीन प्रसारण ‘भ्रेम्या’ मा प्रस्तुत गरिरहेको छ।

ती कार्यक्रममा त्यस्ता षड्यन्त्रका हल्ला मेटाउने प्रयास गरिएको जस्तो देखाइन्छ तर पर्याप्त द्विविधाकासाथ दर्शकको मनमा आशङ्का उब्जाइन्छ।

भ्रेम्याले प्रसारण गरेकामध्ये एक अनौठो आशङ्का चाहिँ यो सङ्क्रमणको नामलाई लिएर छ। कोरोनाको अर्थ ल्याटिन तथा रुसी भाषामा श्रीपेच वा मुकुट हुन जान्छ र यसलाई कुनै हिसाबमा डोनल्ड ट्रम्पसँग उसले जोडिदिएको छ।

विगतमा ट्रम्पले थुप्रै सुन्दरी प्रतियोगितामा मुख्य अतिथि भएर विजेताहरूलाई सुन्दरीको श्रीपेच लगाइदिएको प्रसङ्गलाई पनि जोडिएको छ।

वास्तवमा वैज्ञानिकहरूले सो भाइरसको आकार श्रीपेचजस्तै देखिने भएकाले तिनको नाम कोरोनाभाइरस राखेका हुन्।

सो टेलिभिजनमा प्रसारण गरिएका रिपोर्टमा एक विज्ञलाई पनि देखाइन्छ जसले चिनियाँ कोरोनाभाइरसको स्ट्रेन कृत्रिम रूपमा सिर्जना गरिएको र त्यसको पछाडि अमेरिकी गुप्तचर निकाय वा अमेरिकी औषधि कम्पनी रहेको बताउँछन्।

के भन्छ डब्ल्यूएचओ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रस एड्हानोम गेहब्रयससले पत्रकारहरूसँग यस्ता गलत सूचनाले “सङ्क्रमणविरुद्ध लडिरहेका साहसी मानिसहरूको कामलाई थप कठिन बनाइरहेको” बताए।

“म त्रासबारे हैन, तथ्यको महत्त्वबारे भन्न चाहन्छु। मानिसहरूसँग आफूलाई र अन्यलाई जोगाउन आवश्यक तथ्यपूर्ण सूचनाको पहुँच हुनुपर्छ,” उनले भने।

अस्थी रूपमा 2019-nCoV भनिने गरेको नयाँ कोरोनाभाइरससँग सम्बन्धित गलत सूचनाले आशङ्का उब्जाउने र सर्वसाधारणमा त्रास फैलाउने उनले बताए।

“हामी यहाँ डब्ल्यूएचओमा केवल यो भाइरससँग मात्र लडिरहेका छैनौँ, हामी यससँग सम्बन्धित अफवाहसँग पनि लडिरहेका छौँ जसले हाम्रो अघिल्लो लडाइँमा असर पारिरहेको छ।”