प्रचण्ड भन्छन: एमसीसी नेपालको हितमा छैन भने हामीलाई चाहिन्न - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रचण्ड भन्छन: एमसीसी नेपालको हितमा छैन भने हामीलाई चाहिन्न



काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले आफ्नो अतिमहाशक्ति हैसियत कायम राख्न र आफ्ना विरोधीलाई ठेगान लगाउन इन्डोप्यासिफिक रणनीति (आइपिएस) अघि सारेको दोहोराएका छन्।

हालैको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले चीनलाई कमजोर बनाउन र घेर्न आईपीएस अघि सारेको उल्लेख गर्दा त्यो शब्दावलीको विरोध भएपछि प्रतिवेदनबाट हटाउन बाध्य भएका प्रचण्डले वास्तविकता त्यही नै भएको दोहोर्‍याएका हुन्।

कान्तिपुर ‘कनक्लेभ’मा प्रचण्डले पहिलो आर्थिक शक्ति अमेरिकाले आफूलाई सबैतिर स्थापित गर्न कहिले राजनीति त कहिले सैन्य रणनीति अघि सारेको सजिलै बुझ्न सकिने बताए।

उनले दोस्रो आर्थिक शक्ति बनेको चीनलाई पहिलो बन्ने प्रक्रियामा राजनीति रणनीति, सैन्य रणनीति, आर्थिक रणनीति अपनाएर अमेरिकाले रोकिरहेको स्पष्ट भएको बताए।

‘प्रतिष्पर्धी अमेरिका र चीन भएका बेला अमेरिकाले आईपिएसलाई आफ्ना विरोधीको रणनीतिको रुपमा आफैँले व्याख्या गरिसकेको छ। अमेरिकाले त्यो लुकाएको छैन। चीनलाई कसरी तल पार्ने भन्ने चिन्ता अमेरिकालाई छ। त्यही सन्दर्भमा अमेरिकाको चीनलाई घेर्ने रणनीति हो भनेको हो मैले’, उनले भने।

यस्तै आइपिएससँग जोडिएको भनिएको एमसीसी सम्झौताबारे प्रष्ट भएर मात्रै त्यो पारित गर्नुपर्ने अडान आफूले राखेको समेत बताए।

‘आईपीएस र एमसीसीको सम्बन्ध के हो? अमेरिकाले कति प्रष्ट पार्न सक्छ? भारतसँग पनि सहमति लिनु पर्ने प्रावधान के हो भन्नेबारे स्पष्ट हुनुपर्नेमा मैले जोड दिएको हो,’ उनले भने।

उनले कुटनीतिक सम्बन्ध भएको र आर्थिक सहयोग आदानप्रदान भएको अमेरिकाको सहयोग लिने भन्ने विषयमा भने आफ्नो कुनै विमति नरहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न कुनै पनि समस्या नभएको बताइरहेका बेला तपाईले किन यो यथास्थितिमा पास गर्न हुन्न भन्नु भएको हो भन्ने प्रश्नमा उनले एमसीसीबारे स्पष्ट भएर या बुझेर मात्रै यो संसदबाट पास गर्नु पर्ने जवाफ दिए।

उनले भने,‘ विभिन्न कोणबाट कुरा आइसकेपछि यसलाई राम्ररी बुझेर मात्रै अगाडी बढाऔँ भनेको हो । नेकपाभित्र पनि यसलाई खारेज गरौँ भन्नेमा कोही हुनुहुन्न । मैले केन्द्रीय कमिटीको होस् या स्थायी कमिटी बैठकमा पनि यसलाई राष्ट्रहितमा भएको स्पष्ट भएपछि मात्रै अगाडि बढाउनु पर्छ भनेको हो। अहिलेको केन्द्रीय कमिटी बैठकमा पनि यो खारेज गर्नु पर्छ भन्ने धेरै साथीहरुको मत होइन्।’

एमसीसी अध्ययन गर्न कार्यदल गठन भइसकेको अवस्थामा उनले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले आफूहरु एमसीसीबारे अस्पष्ट भएको र त्यसबारे राम्ररी बुझाउन आग्रह गरेकाले कार्यदल गठन गरिएको प्रचण्डले बताए।

‘स्थायीत्वका लागि मैले नै प्रधानमन्त्री छोडिदिएँ’

एक अर्को प्रसंगमा प्रचण्डले पार्टीका अर्का अध्यक्ष ओलीसँग देशको राजनीतिक स्थायीत्वका लागि ‘आलोपालो सरकार सञ्चालन गर्ने सहमति’ खारेज गर्ने प्रस्ताव आफैले गरेको प्रचण्डले बताए।

प्रधानमन्त्रीका लागि तीन वर्ष धैर्य गनुहुन्छ त भन्ने प्रश्नमा उनले भने,‘ मैले मन कै कुरा गर्छु । आलोपालो प्रधानमन्त्री हुने हामी दुवैको हस्ताक्षर हो। दुई वर्षको मेरो अनुभवले प्रधानमन्त्री बीचमा फेर्दा कहीँ न कहीँ राजनीतिक अस्थिरता उत्पन्न हुन्छ भन्ने लाग्यो। त्यसैलाई ध्यान दिएर मैले प्रधानमन्त्री पद छोडेकै हो।’

प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न हतारो छैन भन्दा भन्दै पनि भित्रभित्र त पद हात पार्न नै खोजेको होला भन्ने कतिपयलाई भएपनि त्यसो नभएको स्पष्ट पार्ने कोशिस गरे।

यस्तै प्रचण्डले अर्का अध्यक्ष आलीसँग कुनै मनमुटाव नभएको पनि दाबी गरे। उनले भने,‘ हामी धेरै ठूला संघर्ष गरेर यहाँ सम्म आएका हौँ। यस्ता संघर्ष गरेकाहरुबीच कहिलेकाँही उपलब्धी मात्रै होइन दुर्गति पनि हुन्छ। तर पार्टीमा दुर्गति हुन हामी दिने छैनौ।’