निर्दोष प्रमाणित गरेर देखाउन काङ्ग्रेसलाई बास्कोटाको चुनौती
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा नेपाली कांग्रेसले लगाएको आरोपको खण्डन गर्दै चुनौती दिएका छन्।
बास्कोटाले काङ्ग्रेसले अदालतबाट सफाई लिएर आउन चुनौती समेत दिए ।उनले गच्छदारलाई नफसाइएको प्रष्टीकरण दिएका छन्। कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारलाई नियतवश फसाइएको आरोप लगाइरहेको सन्दर्भमा उनले यस्तो दाबी गरेका हुन्।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नु पर्दैन । तथ्य त स्वीकार गर्नुपर्यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’
‘दोषी ठहर हुनुभयो हाम्रो के लाग्छ र ?’ उनले अघि भने ।
‘कसैलाई फसाइएको होइन । कसैलाई ‘लाल फित्ताधारी र श्वेत फित्ताधारी’ भएको छैन,’ बाँस्कोटाले भने, ‘घटना आज भएको होइन । सरकारले सूचना थाहा पाएपछि कारवाही प्रक्रिया थालेको हो । १७५ जनालाई मुद्दा लागेको छ, अदालतले जे फैसला गर्छ, त्यही अन्तिम हुन्छ । सरकारले त्यहीअनुसार कार्यान्वयन गर्छ ।’
चीनमा फैलिएको कोरोना भाइरसबारे विश्व नै संवेदनशील भएको र नेपाल पनि आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि चिन्तित भएको उनले बताए । ‘नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि हामी चिनियाँ नागरिक सरह संवेदनशील छौं भनेर चीनले भनेको छ। अभिभावक आत्तिनु स्वाभाविक हो। सरकार पनि चिन्तित छ,’ उनले भने ।
चीनबाट ल्याइने विद्यार्थीलाई केही समयका लागि राख्न चार ठाउँ पहिचान गरिएको जानकारी उनले दिए । ‘उनीहरुलाई १४ दिन छुट्टै राख्नुपर्ने हुन्छ । जहाजको समस्या होइन, अरु तयारी पनि चाहिन्छ, त्यो हामी गरिरहेका छौं । एकजना विद्यार्थीले फोन गरेका थिए । तापईहरु सुरक्षित हुनुहुन्छ भनेर आश्वस्त बनाएँ । दूतावासले समन्वय गरिरहेको छ । छिटै नेपाल ल्याउँछौं उहाँहरुलाई । संक्रमण भइहालेको छ भने चीनले ल्याउन पनि दिँदैन,’ उनले थपे। अहिलेसम्म कोही नेपालीलाई संक्रमण नभएको उनले बताए ।