गोकुल बास्कोटाको नेकपाभित्रै चर्को बिरोध: पद धरापमा
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरे ।
‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ । चाह्यो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ यो देशका नेताहरूलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने ।
राष्ट्रियता स्वाधीनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उनको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेन्डुप दोर्जे प्रवृत्तिको भएको भन्दै किरातीले आपत्ति जनाए ।
‘लेन्डुप दोर्जे प्रवृत्ति आत्मसमर्पण प्रवृतिविरुद्ध आपत्ति प्रकट गर्न चाहन्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु,’ उनले भने ।
प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’
सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा निजी धारणा राख्ने गरेको बताए । राष्ट्रिय हितमा हुने गरी अगाडि बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औंल्याए ।
अर्का सांसद नारदमुनि रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए । संसदमा समेत दुईथरी अतिवादी विचार सार्वजनिक भइरहेको उनको भनाइ छ ।
‘एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरू संसदमा जुहारी खेलिरहेका छन् । राष्ट्रहितमा कसरी लान सकिन्छ । तपाई (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पावस,’ उनले भने ।
समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् । गम्भीरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकताबद्ध भएर पास गर्नुपर्नेमा उनको जोड थियो । ‘पास गर्दा पनि एकताबद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भने पनि एकताबद्ध नै हुनुपर्छ । मत विभाजन गरी विभाजित हुनुहुँदैन,’ उनले भनिन् ।
एमसीसीका विषयमा सत्तारूढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरू व्यक्त भइरहेका छन् । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।
बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरूको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ ।
प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनबाटै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् । आइतबारको समिति बैठकले विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृति क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि २ महिना थप गरेको छ ।