तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं- निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।
तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको हो । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जनाइएको छ ।
नेकपाका एक नेताका अनुसार उनलाई मंगलबारको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको बताएका छन् ।
उपसभामुख रहँदा निकै चर्हामा रहेकी र अडान लिएर पार्टीको निर्णयलाई उल्ट्याएकी उनलाई राजिनामा गरेबापत पार्टीले केन्द्रीय सदस्य बनाएको बुझिएको छ ।
यसअघि उनलाई उपसभामुखबाट राजिनामा गराएर मन्त्री बनाउनेबारे नेकपामै छलफल भएको थियो ।
नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।
तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।
पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो ।