अनलाइनमा आइफोन बेच्ने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं- पर्सा प्रहरीले ‘अनलाइन मार्केटिङ’मार्फत् समान पठाउने भन्दै ठगी आरोपमा चारजनाको गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१५ बस्दै आएका २९ वर्षीय रोशन सिहं, २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगंज महानगरपालिका–१५ बस्दै आएका २६ वर्षीय सविक भक्त र वीरगंज महानगरपालिका–१५कै १८ वर्षीय फारुख आलम छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र राठौरका अनुसार उनीहरुले फेसबुक, ह्वाटसप, ट्विइटर, म्यासेन्जर लगायतका सामाजिक सञ्जालमा ‘क्लब फ्रेन्ट्री अनलाइन एप’ खोलेर एप्पल कम्पनीका मोबाइल बिक्री गर्ने, अमेरिका, बेलायत, क्यानडा लगायतका देशको भिसा समेत मगाइदिने भन्दै ठगेको पाइएको छ ।
नक्कली नागरिकताको प्रयोग गरी विभिन्न बैंकहरुमा खाता खोली सोही खातामा रकम मगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।

