एनआरएनको नागरिकता विधेयक पारित गर्न पन्तको जोड: प्रधानमन्त्रीले दिए यस्तो वचन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

एनआरएनको नागरिकता विधेयक पारित गर्न पन्तको जोड: प्रधानमन्त्रीले दिए यस्तो वचन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको टोलीलाई भेटेका छन् ।

भेटका क्रममा प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा संघका अध्यक्ष कुमार पन्तलगायतसंगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपालबाहिर गरेका गतिविधिप्रति चासो राखेको बताइएको छ ।

कुराकानीकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको वचन समेत दिएको बताइएको छ।

सोही अवसरमा संघका अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छिट्टै त्यसलाई टुङ्‌गाे लगाइने आश्वासन दिएका थिए।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे जानकारी गराएका थिए। यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताए।

अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघको हालै पोखरामा सम्पन्न ७१ औँ बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन्। भेटका क्रममा गैरआवासीय नेपाली समुदायको विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन्।