अग्नि सापकोटाको मुद्दा स्थगित हुनुको रहस्य - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अग्नि सापकोटाको मुद्दा स्थगित हुनुको रहस्य



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सभामुख पदका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनवाइ स्थगित भएको छ।

सापकोटाविरुद्ध परेको रिटमाथि आज सुनवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी तोकिए पनि सुनवाइ अगाडि बढ्न सकेन।

सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतको न्यायाधीश हुनुभन्दा पहिले आफूले बहस गरेको भन्दै फुँयालले आज मुद्दा नहेर्ने जानकारी दिएपछि सुनुवाइ स्थगित भएको हो। अब, अर्कै न्यायाधीशको इजलासमा राखी सापकोटाको मुद्दाको पेसी तोकिने भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटामाथि लगाइएको कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले सभामुख नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए।

यस्तो थियो मुद्दा

द्वन्द्वकालमा काभ्रे जिल्लाका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेको आरोप लामाको परिवारले लगाउँदै आएको छ।

माओवादी जनयुद्धको समयमा २०६२ साल वैशाख १६ गते कृष्ण माध्यमिक विद्यालय, छत्रबाँझका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरणपछि हत्या गरिएको थियो।

सापकोटा सभामुखमा निर्वाचित हुने भएपछि मानवअधिकारकर्मीले तीव्र विरोध गर्दै आएका छन्। सापकोटालाई सभामुख उम्मेदवार बनाएकोमा असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार राजीनामा दिइसकेका छन्।

सापकोटालाई सभामुख बनाउन नहुने माग राख्दै अर्जुन लामाकी पत्नी पूर्णिमायाले विभिन्न मानवअधिकारवादी संस्थामा उजुरीसमेत दिएकी छन्।

सभामुख चयनका लागि आज ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। उक्त पदका लागि नेकपाका नेता सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्वाचित हुने पक्का भइसकेको छ।