गोरखामा लुटिएको खुसी, पोखरामा फर्कियो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गोरखामा लुटिएको खुसी, पोखरामा फर्कियो



काठमाडौं- ६ वर्षपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ संसद् प्रवेश गर्न लागेका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट निर्वाचित भएसँगै उनको संसद् प्रवेशको बाटो खुलेको हो । उनी ०६४ को संविधानसभामा मनोनीत भएका थिए ।

संविधानसभा विघटनसँगै ०७० मा पुनः संविधानसभाको निर्वाचन हुँदा मकवानपुर–३ बाट तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग पराजित भए । त्यसपछि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्ला रोजेका श्रेष्ठ गोरखा–२ मा पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग पराजित भए । ०६४ को संविधानसभामा मनोनीत हुँदा दुई पटक मन्त्री भएका श्रेष्ठको यो पटकको इनिङलाई पनि मन्त्रीकै रूपमा आंकलन गर्न थालिएको छ ।

यसरी आए राष्ट्रिय सभामा

२ मंसिर ०७४ मा पीताम्बर शर्मा, हरि रोकालगायत ११ जना वाम बुद्धिजीवीले विज्ञप्ति जारी गरेर मत दिन आह्वान गर्दा पनि संसद् प्रवेशको बाटो बन्द भएपछि श्रेष्ठ झण्डै दुई वर्ष चुपचाप बसे । तर, जब नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद्मा आउन मरिहत्ते गर्न थाले, त्यसपछि भने श्रेष्ठको नाम पनि छलफलमा आयोे ।

नेकपा सचिवालय बैठकमा गौतमलाई उपनिर्वाचनमा कहाँबाट उठाउने भन्ने चर्चा हुन थालेपछि अध्यक्ष केपी शर्मा ओलीले ‘गौतमजीको मात्र किन ? नारायणकाजीजीको इच्छा के छ ?’ भनेर सोधेका थिए । जवाफमा श्रेष्ठले उपनिर्वाचनबाट प्रतिनिधिसभामा नजाने स्पष्ट पारेका थिए ।

उनी एमाले–माओवादी एकीकरणदेखि नै पार्टी र सरकारबारे आलोचनात्मक धारणा राख्दै आएका थिए । तर, २९ मंसिरको स्थायी कमिटी बैठकसम्म पुग्दा भने पार्टी र सरकारका विषयमा चुपचाप नै रहे । त्यसलाई नेकपा नेताहरू राष्ट्रिय सभामा आउने कसरतका रूपमा अथ्र्याउँछन् ।

१९ पुसको सचिवालय बैठकमा भने श्रेष्ठको प्रस्ताव रोचक ढंगले प्रवेश भयो । अध्यक्ष ओली र प्रचण्डले वामदेव गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा आउन प्रस्ताव गरे । गौतमले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्नुपर्ने सर्त राखे भने श्रेष्ठ निसर्त तयार भए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निर्वा्चित भएसँगै उनको भूमिकालाई लिएर चर्चा सुरू भएको छ । अहिले राष्ट्रिष्य सभामा संसदीय दलको नेता दीनानाथ शर्मा भन्दा श्रेष्ठ सिनियर हुन् । त्यसैले उनी संसदीय दलको नेता दाबी गर्न सक्ने देखिएको छ ।

अर्को, उनको मन्त्रीको दाबी रहनेछ । ‘श्रेष्ठले मन्त्री हुन बार्गे्निङ गर्न सक्छन्, त्यो बाटो खुल्यो,’ पूर्व माओवादीका एक नेताले भने, ‘तर, अहिले रिक्त रहेका सहरी र कानुन मन्त्रालयमा राजपालाई दिनुपर्ने बाध्यताका कारण श्रेष्ठको सम्भावना ज्यादै कम छ ।’

यद्यपि, उनले पूर्वएमाले समूहले सम्हाल्दै आएको परराष्ट्र वा अर्थ मन्त्रालय दाबी गर्न सक्ने ती नेताको भनाइ छ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले श्रेष्ठलाई तत्काल सांसद मात्रै बनाउन राष्ट्रिय सभामा ल्याएको बताउँदै खनालले भने, ‘तर, कुनै नेता सांसद भइसकेपछि मन्त्री वा प्रधानमन्त्रीमा इच्छा देखाउनु स्वाभाविकै हो ।’