राष्ट्रिय सभा निर्वाचनमा फुस्किएको काङ्ग्रेसको धोती - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

राष्ट्रिय सभा निर्वाचनमा फुस्किएको काङ्ग्रेसको धोती



काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात वटै प्रदेशमा सत्तारूढ दल नेकपाले वर्चस्व कायम गरेको छ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा दुई वर्ष पूरा भएर रिक्त हुने १९ जनामध्ये १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका हुन् ।

प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन बनेको थियो । अन्य सबै प्रदेशमा नेकपा उम्मेदवार विजयी बनेका छन् । राष्ट्रिय सभामा प्रदेश १ बाट ३, प्रदेश २ मा ४, बाग्मतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।

नेकपासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा तथा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ दलबीच राष्ट्रिय सभा निर्वाचनमा रिक्त पदका लागि प्रतिस्पर्धा भएको थियो । यो परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले पहिले जितेका ७ सिट गुमाएको छ ।

प्रदेश १ मा तीनै जना नेकपा उम्मेदवार विजयी

बिहीबार भएको निर्वाचनमा प्रदेश १ बाट नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

दलित कोटाबाट निर्वाचित अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए ।

यसैगरी, महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२, अन्यतर्फ विजयी बनेका दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।

प्रदेश २ मा नेकपा र राजपाको गठबन्ध विजयी

निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन बनेको थियो । प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनको अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह विजयी भएका छन् ।

उनले कांग्रेसका उम्मेदवार भोला पञ्जियारलाई पराजित गरेका हुन् । विजयी शेखरकुमारले कुल ५ हजार ५०२ मतभार प्राप्त गरे भने पराजित कांग्रेसका पञ्जियारले ४ हजार २१२ मतभार प्राप्त गरे ।

महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान, अन्यतर्फ राजपाका मृगेन्द्रसिंह यादव विजयी भएका छन् । यादवले समाजवादी पार्टीबाट उम्मेदवार बनेका आफ्नै भाइ अनिरुद्रसिंह यादवलाई पराजित गरेका हुन् ।

यादवले कुल ५ हजार ४ सय मतभार प्राप्त गर्दा उनका भाइ सिंहले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका हुन् । प्रदेश २ मा चार पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए ।

बाग्मती प्रदेशमा पनि नेकपा मात्रै

बाग्मती प्रदेशमा महिलामा गंगाकुमारी बेलबासे र अन्य समूहमा वेदुराम भुसाल निर्वाचित भए । बेलबासेले ६ हजार ८ सय २८ र भुसालले ६ हजार ८ सय १० मतभार पाए ।

बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेलाई पराजित गरेकी हुन् । भुसालले कांग्रेसका हरिशरण श्रेष्ठ र नेमकिपाका कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।

गण्डकी प्रदेशमा कांग्रेसको भाग नेकपाको पोल्टामा

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि रिक्त रहेका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन् । मतपरिणामअनुसार अन्य कोटामा नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४ सय ६२ मतभारसहित विजयी भएका हुन् । सोही कोटाबाट उम्मेदवार बनेका कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४० मतभार ल्याए ।

महिला पदमा नेकपाबाटै उम्मेदवार बनेकी भगवती न्यौपानेले १ हजार २० मतभारले कांग्रेसकी विमला गौचनलाई पराजित गरिन् । न्यौपानेले ३ हजार ३ सय ६६ मतभार ल्याउँदा गौचनले २ हजार ३ सय ४० मतभार ल्याएकी हुन् ।

यस्तै, अर्का अन्य पदमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले १ सय ९८ मतभार ल्याए । गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो ।

प्रदेश ५ मा तीनै जना नेकपाबाट विजयी

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश ५ को दाङमा भएको निर्वाचनमा तीनैजना नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई विजयी बनेका हुन । राष्ट्रिसभाका तीनजना सदस्य पदका लागि नौं जना उम्मेदवार बीच प्रतिपर्धा भएको थियो ।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार बनेका थिए ।
त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी, राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।

कर्णाली प्रदेशमा पनि नेकपा नै विजयी

कर्णाली प्रदेशमा समेत राष्ट्रिय सभा सदस्यमा दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । अन्य कोटाबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६ सय १८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले १ हजार २६ मतभार प्राप्त गरे ।

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा बिसी ३ हजार ६ सय ८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले १ हजार २६ मात्र प्राप्त गरिन् । सो प्रदेशमा एक जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।

सुदूरपश्चिम प्रदेश पनि नेकपाको कब्जामा

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार भएको मतदानबाट नेकपाका तर्फबाट उम्मेदवारी दिएका तारामान स्वाँर र शारदा भट्ट विजयी भएका हुन् ।

महिलातर्फ नेकपाकी भट्टले ३ हजार ७ सय ३८ मतभार पाई विजयी बनेकी हुन् । भट्टले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटालाई पराजित गरेकी हुन् । देवकोटाले १८ सय ५४ मतभार पाएकी छन् ।
यस्तै, अन्य समूहबाट नेकपाकै स्वाँर निर्वाचित भएका हुन् । उनले ३ हजार ७ सय २० मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रतापसिंह ठगुन्नाले भने १ हजार ८ सय ४२ मतभार पाएका छन् ।

कांग्रेसको ७ सिट गुम्यो

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले यसअघि जितेका ७ सिट गुमाएको छ ।

दुई वर्षमा कार्यकाल सकिने एक तिहाइमध्ये नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद २० फागुनदेखि रिक्त हुन लागेकाले बिहीबार सो पदका लागि मतदान भएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल २० फागुनबाट सकिनेछ ।

सोही स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले पहिले आफूले जितेका सबै सिट गुमाएको हो । २ वर्षअघि राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल गोलाप्रथाद्वारा तय गर्दा एक तिहाइ सदस्य अर्थात् १९ जनाको दुई वर्ष परेको थियो । जसमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।