पढेर विदेशमै बस्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको घोषणा
पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको छात्रवृत्तिमा पढेर विदेशमा हराएकाहरुको खोजी गरी कारबाही गर्ने चेतावनी दिएका छन् ।
पोखरामा बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले सो चेतावनी दिएका हुन् ।
उनले स्वास्थ्य मन्त्रालय भित्रबाटै शुद्विकरण अभियान चलाउने उद्घोष गर्दै स्वास्थ्य क्षेत्रका बेथिति र अनियमितता हटाउने गरी काम गर्ने बताए ।
उनले करीब ७ हजार कर्मचारीको समायोजन समस्या रहे पनि २ हजार कर्मचारी समायोजन भैसकेको जानकारी दिए ।
मन्त्री ढकालले सरकारी अस्पताललाई स्वास्थ्य सेवाको आकर्षण केन्द्र बनाउने बताए । ‘बेथिति, अनियमितता र अस्तव्यस्तता छन्, त्यसलाई अन्त्य गर्न केही समय लाग्छ तर नआत्तिनुस्,’ उनले भने, ‘सरकारी अस्पताललाई आकर्षणको केन्द्र बनाउँछु ।’
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्वास्थ्यकर्मी जनताको सेवामा पूर्ण समर्पित हुन आवश्यक रहेको औंल्याए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव खगराज बरालले सरकारलाई अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । प्रतिष्ठानका उपकुलपति डा बुद्विबहादुर थापा, अस्पतालका निर्देशक डा.अर्जुन आचार्य, सिनेनर आनन्दराज मुल्मी, शाखा अधिकृत नारायण आचार्यले पनि बोलेका थिए ।
यसैबीच, एचआइभी संक्रमितमा भाइरसको अवस्था परीक्षण गर्न सकिने गरी अस्पतालमा भाइरल लोड सेवा शुरु भएको छ । यो सेवा नहुँदा परीक्षणका लागि काठमाडौं जानुपर्ने बाध्यता थियो ।
सेवा संचालनका लागि राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण महाशाखाले २ करोड रुपैयाँमा मेसिन उपलब्ध गराएको हो ।