चित्रबहादुर भन्छन: कर्णाली भारतलाई दिए, अमेरिकासंग पैसा मागे - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चित्रबहादुर भन्छन: कर्णाली भारतलाई दिए, अमेरिकासंग पैसा मागे



काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरू देशका लागि राजनीति गरेको र देशकै भलोको लागि बोल्ने गरेको बताएका छन् । साथै उनले अहिलेको सरकारले कर्णाली भारतलाई बुझाएर चुप लागेको तर, अमेरिकासँग पैसामा हात थापेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियान काठमाडौंले आयोजना गरेको सीमा अतिक्रमण विरुद्धको एक महिने अभियाको सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा समापन गर्दै अध्यक्ष केसीले भने म सत्य बोल्छु, जनताले भोट देलान भनेर होइन, देशको भलो होला भनेर बोल्छु ।

उनले कार्यक्रममा बोल्दै एमसीसी स्वीकार गर्नु मुलुकका लागि घातक हुने पनि बताएका छन् । यो अमेरिकाको स्वार्थमा आउने र नेपाल हुँदै चीन घेर्ने रणनीति भएकोले स्वीकार गर्न नहुने उनले बताए ।

अध्यक्ष केसीले यो परियोजना स्वीकार गरे नेपालमा साम्राज्यवादी हस्तक्षेप खुला रुपमा आउने चेतावनी समेत दिए।

नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत अमेरिकाले एमसीसी परियोजना लागु गर्न चाहेका बताए।

देशका करोडौं भ्रष्टाचार गर्ने र कर छल्नेलाई कार्बाही नगर्ने तर अमेरीकासँग हात थाप्नु रहस्यको विषय भएको केसीले बताए।

उनले भने, ‘यो अमेरिकाको स्वार्थ हो । अमेरिकाले नेपालमा सैनिक अखडा कायम गरेर चीन विरुद्व घेराबन्दी गर्न चाहान्छ।’ उनले एमसीसी कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिए।

केसीले देश संघीयताले कमजोर भइसकेकोले अब खारेज गर्नुको विकल्प नरहेको जिकीर पनि गरे। संघीयताको विरोध गर्दा भोट कम आएपनि विरोध गर्न नछोड्ने उनले बताए।

उनले भने, ‘हामीले राजनीति गरेको देशलाई केन्द्रमा राखेर हो। त्यसकारण के भनेर जनताले भोट दिन्छन् त्यसका आधारमा राजनीति गर्ने होइन।’

उनले भारतीय साम्रज्यवादको ज्यादती नेपालमा बढेको भन्दै अतिक्रमित भूमि फिर्ता गर्न सरकारले गम्भीर पहल नगरेकोमा आपत्ति समेत जनाए।