सभामुखकै कारण नेकपा फुट्न सक्ने विश्लेषण
काठमाडौं- प्रतिनिधिसभाको सभामुख चयन प्रक्रियाले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्घटनामा पर्नसक्नेतर्फ पाका राजनीतिज्ञहरुले सचेत गराएका छन् ।
यस्ता मुद्दाले समयमै निकास नपाए राजनीतिक दलहरु फुटउन्मुख हुनसक्ने पनि उनीहरुले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख चयन प्रक्रियालाई लिएर चर्को द्वन्द्व छ ।
ओलीलाई सुवास नेम्वाङ नभइ नहुने, दाहाललाई अग्नि सापकोटा नै चाहिने ।
दुई अध्यक्षले एक/एक पात्र अगाडि सारिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा सभामुखमा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेको जोडबल पनि चलिरहेको छ ।
सभामुख कसलाई बनाउने भन्नेमा नेकपामा त्रिपक्षीय शक्ति संघर्ष चलेकै कारण संसद बन्दक बनेको छ भने नेकपा नेतृत्व निरीह देखिएको छ ।
पाका राजनीतिज्ञहरुले नेकपा नेतृत्वलाई बेलैमा सभामुख प्रकरण टुंग्याउन सुझाव दिएका छन् । अन्यथा नेकपा विभाजनको दिशामा जाने सम्भावना उनीहरुले औंल्याएका छन् ।
पूर्वसभामुख तारानाथ रानाभाट पनि यो कुरामा सहमत देखिन्छन् । विगतमा नेपाली कांग्रेस पनि यस्तै विवादले विभाजित भएको स्मरण उनले गराए ।
यौन दुर्व्यवहारको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल परेपछि प्रतिनिधिसभाको सभामुख पद खाली छ ।
तर, सत्तारुढ नेकपाको गुटगत स्वार्थ र पार्टीका नेताहरुको व्यक्ति मोहका कारण सभामुखको कुर्सीमा को र कहिले पुग्छ भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।
लोकतन्त्रमा राजनीतिक दल र त्यसको नेतृत्व निर्णयविहीन हुनु दुर्भाग्यपूर्ण हो । यही मुद्दाले नेकपा विभाजित हुने त होइन ? भन्ने बहस चल्न थालेको सन्दर्भमा नेकपा नेतृत्व गम्भीर बन्नुपर्ने देखिन्छ ।
यो सामाग्री इमेजका लागि रोमन आचार्य, नवीन स्थापित र प्रदीप पौडेलले तयार पारेका हुन् ।