सुदूरपश्चिम प्रदेश सभासँग स्थानीय तहहरू जोड्न 'भिडियो कन्फ्रेन्स' - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सुदूरपश्चिम प्रदेश सभासँग स्थानीय तहहरू जोड्न ‘भिडियो कन्फ्रेन्स’



कैलाली । सुदूरपश्चिम प्रदेश सभासँग अब सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू पनि जोडिने भएका छन् । प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न सुदूरपश्चिम प्रदेशमा ‘भिडियो कन्फ्रेन्स’ सुरु हुन लागेको छ ।

युएनडिपीको सहयोगमा सुदूरपश्चिम प्रदेश सहित नौ वटै जिल्लामा भिडियो कम्फ्रेन्सका लागि उपकरणहरू जडान गरिएको सभामुख अर्जुन बहादुर थापाले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रदेश सभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि भिडियो कन्फ्रेन्स सुरु गर्न लागिएको सभामुख थापाले बताए। संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनको लागि यो काम गरिएको बताउदै सभामुख थापाले कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको बिचार बुझ्न पनि यसले सहयोग गर्ने जानकारी दिए । “संसदीय गतिविधिका साथै कानुन निर्माणका सवाल जनताको माझमा पु¥याउन सजिलो हुन्छ । उनले भने , “सधैँ, सबै व्यक्तिलाई बोलाएर छलफल, सल्लाह गर्न सम्भव हुँदैन । त्यस्तो अवस्थामा भिडियो कन्फ्रेसमार्फत आवश्यक छलफल गर्न सहज हुनेछ ।”

कैलाली बाहेक अन्य सबै जिल्लाका समन्वय समितिमा यो प्रविधि जडान गरिसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । कैलालीको लागि भने टीकापुर नगरपालिकामा यो जडान गरिएको छ । प्रदेश सभा र जिल्ला समन्वय समिति एउटै परिसरमा रहेका कारण यसैबाट काम हुने प्रदेश सभा सचिवालयको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा जडान गरिएको भिडियो कन्फ्रेन्सको परीक्षण समेत भइसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।