पति बाकसमा आए, तर पत्नीले अन्तिम संस्कार गर्न समेत पाइनन् - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पति बाकसमा आए, तर पत्नीले अन्तिम संस्कार गर्न समेत पाइनन्



काठमाडौं- त्रिभुवन विमानस्थलमा आइतबार थाइ एयरमा आउने आफन्तलाई कुर्नेको भीडको कुनामा दुई दाजुभाई कुरा गर्दै थिए।

घरीघरी आगमनतर्फको प्रतिक्षालयमा झुण्ड्याइएको मोनिटरमा विमानस्थलमा अवतरण भएको विमानको लिस्ट हेरिरहन्थे। त्यतिबेला मलेसिया र दुबईबाट आउने यात्रुको लाम थियो।

सवा १ बजे विमानस्थलमा थाइ एयर अवतरण भयो। दोलखा भिमेश्वर नगरपालिका–२ का गम्भीर र शिव श्रेष्ठ थाइ एयरलाई कुरिरहेका थिए। यही एयरमा उनका ३२ वर्षीय भाइ राजुको शव बाकसमा आउँदै थियो। चार दिन अगाडि उनको कार दुर्घटनामा मृत्यु भएको थियो।

विमानस्थल पुग्नु भन्दा अघि भाइको लागि पशुपतिमा चिता तयार परिएको थियो। छोराको अन्तिम पटक अनुहार हेर्न ६६ वर्षीया आमा अमलापुरी श्रेष्ठ र ७३ वर्षीय बुवा विष्णुप्रसाद श्रेष्ठ दोलखाबाट चारदिन अघि नै काठमाडौं आइसकेका थिए।

छोराको शव राखेको बाकस घाटमा पुर्‍याउने बित्तिकै आमा अमलापुरी सम्हालिन सकिनन्। ‘छोरा बैशाखमा बुहारी र नाति लिएर आउँछु भनेर फोन गरेको थियो,’ उनले भनिन्, ‘बाकसमा पो आयो।’

मृतकका भिनाजु श्रवणकुमार श्रेष्ठ र श्रीमती सीता राईले राजुको शव बाकसमा हालेर नेपाल पठाए। तर, पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा श्रीमती र छोरा भने आउन सकेनन्।

सीता म्यानमारकी हुन्। उनले चाहेर पनि श्रीमानको दाहसंस्कारमा आउन सकिनन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दश वर्षअघि क्लिनर भिसामा मलेसिया गएका राजु केही वर्ष कामदार भएर काम गरे। त्यसपछि आफैँ व्यापार गर्न थाले। विभिन्न कम्पनीका कामदारलाई खाना सप्लाई गर्ने श्रेष्ठले मलेसियामा रेष्टुरेन्ट समेत सञ्चालन गरेका थिए।

नेपाली कामदारलाई नै व्यवसाय जिम्मा लगाएर अन्तिम पटक ०७४ वैशाखमा नेपाल आए। तर, कामदारको दुर्घटना भएको खबर आए लगत्तै मलेसिया फर्किए। त्यसअघि नै म्यानमारकी नेपालीभाषी सितासँग उनको विवाह गरिसकेका थिए।

उनको १५ महिने छोरासहित श्रीमतीलाई आउँदो बैशाखमा स्वदेश फर्कने फोनमा आमा र आफन्तलाई सुनाएका थिए। उनको भक्तपुरको झौखेलमा साढे तीन तले घर बन्दैछ।

‘बैशाखमा घर सर्ने गरी बुहारी लिएर आउने भनेका थिए,’ दाई गम्भीरले भने,‘हतार हतार गरेर घर निर्माण भइरहेको थियो। उनीहरु सबै आउने कुराले हामी पनि खुसी थियौ। त्यस अघि उनको शव आइपुग्यो।’