प्रचण्डलाई लक्षित गर्दै पूर्वराजाले भने: ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्डलाई लक्षित गर्दै पूर्वराजाले भने: ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै सत्य कहिलै नहार्ने बताएका छन् ।

उनले देशको सबै भू-भाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने पनि बताएका छन्।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाएका छन्।

जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट रहेको उनले विज्ञप्तिमा जनाएका छन्।

शाहले प्रचण्डले एक कार्यक्रममा राजाहरू राष्ट्रघाती थिए भनेको भनाईलाई लक्षित गर्दै भनेका छन्, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने?,

शाहले ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने’ बताएका छन्।

उनले ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ भनेका छन्।

पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती हो।

मुलुकमा गणतन्त्र आएपछि सो दिन दिँदै आएको बिदा सरकारले कटौती गरेको छ।

शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उतिकै सान्दर्भिक रहेको विज्ञप्तिमा जनाएका छन्।