प्रचण्ड भन्छन: निरंकुशता, तानाशाह र सामन्तवादका विरुद्ध ठुलो घोषणा भयो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रचण्ड भन्छन: निरंकुशता, तानाशाह र सामन्तवादका विरुद्ध ठुलो घोषणा भयो



काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्ना नेता कार्यकर्तालाई केही भएन भनेर निराश नहुन र नअल्मलिन अनुरोध गरेका छन् ।

शनिबार विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्तलाई नेकपामा भित्र्याउँदै उनले भने, ‘साथीहरु केही पनि भएको छैन भनेर अल्मलिएको देखेको छु । त्यस्तो होइन । मुलुकमा धेरै ठूलो कुरा भएको छ ।’

उनले संविधानमा सार्वभौमसत्ता राजामा निहित रहेको व्यवस्था उल्ट्याएर जनतामा निहित गराउनुलाई सामान्य उपलब्धिको रुपमा नबुझ्न आग्रह गरे । संविधान कार्यान्वयनको चुनौती अझै रहे पनि घोषणा गरिएको कुरा भने क्रान्तिकारी नै रहेको जिकिर गरे ।

यस्तो थियो प्रचण्डको मन्तव्यको

साथीहरु केही पनि भएको छैन भनेर अल्मलिएको देखेको छु । त्यस्तो होइन । मुलुकमा धेरै ठूलो कुरा भएको छ । किनभने राणाकालमा पहिलोचोटि नेपालको संविधान भनेर संविधान जारी भयो । त्यसमा राज्यशक्तिको स्रोतको रुपमा राजा महाराजाहरुलाई भनियो ।

००७ सालपछिका संविधानहरुमा पनि सार्वभौमसत्ता राजामा नै निहित भनियो । ०३६ र ०४६ सालपछिको आन्दोलनपछि पनि त्यही नै भनियो । बहुदल आएपछि पनि संविधानको घोषणा गर्दा पनि देशको सार्वभौमसत्ता कसमा निहित छ भन्दा राजामा निहित छ भनियो ।

इतिहासमा पहिलोपटक संविधानमा हामी सार्वभौम नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको यो संविधान निर्माण गरेर घोषणा गरेका छौं । यो भाषा जुन संविधानको प्रस्तावनामा छ ।

म साथीहरुलाई यसको बारेमा गम्भीररुपमा विचार गर्न अनुरोध गर्दछु । यति ठूलो कुरो, जनता पहिलोचोटि सार्वभौम भएर आफ्ना प्रतिनिधिमार्फत् हामीले घोषणा गर्‍यौं भनेर जनताले भनाउने कुरा इतिहासमा निरंकुशताका विरुद्ध, तानाशाहीका विरुद्ध, सामन्तवादका विरुद्ध यो भन्दा ठूलो घोषणा अरु हुन सक्दैन ।

कार्यान्वयनमा चुनौती अझै छन् । तर, जे घोषणा गरिएको छ त्यो क्रान्तिकारी घोषणा गरिएको छ । त्यो तपाईं हामी सबैले संघर्ष र बलिदान नगरी भएको घोषणा होइन ।

लामो संघर्ष, लामो आन्दोलन र ठूलो बलिदानपछि सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदाय, सबै सबैको योगदानबाट यति ठूलो ऐतिहासिक घोषणा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।

हामी यसको रक्षा गर्ने र थप उपलब्धि समाजवादको निम्ति अगाडि बढ्ने यो भन्दा महान दायित्व अरु हुन सक्दैन ।